न्यूजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, भारत पराजित

एजेन्सी । न्यूजिल्यान्ड इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । २४० रनको चुनौती पछ्याउने क्रममा बुधबार भारतले ४९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २२१ रनमात्र बनाउन सक्यो । सातौं विकेटका लागि रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीबीच ११६ रनको साझेदारी गरेपनि भारत पराजित हुन पुग्यो । 

जडेजाले ५९ बलमा ७७ तथा धोनीले ‘रनआउट’ हुनुअघि ७२ बलमा ५० रन बनाएका थिए । त्यसअघि भारतले ९२ रन जोड्दा ६ विकेट गुमाएको थियो । जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा, कप्तान विराट कोहली र लोकेश राहुल समान १ रनमा आउट भए । ५ रन जोड्दा भारतले सुरुआती तीन ब्याट्सम्यानलाई गुमाएको थियो । ऋषभ पन्त र हार्दिक पाण्डेयाले समान ३२ रन बनाए । न्यूजिल्यान्डका माट् हन्रीले ३ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्तनरले समान २ विकेट लिए ।यसअघि न्यूजिल्यान्डले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याएको थियो । मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएपछि वर्षाले खेल हुन नसक्दा बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो । न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए । भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।जितसँगै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा न्यूजिल्यान्ड फाइनलमा अष्ट्रेलियासित पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र आयोजक इंग्ल्यान्ड खेल्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *