यस कारण हुन्छ महिलालाई बढी हिस्टेरिया ? यसका लक्षण र उपचार

 

असार १७ ।  अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । 

हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । 

null

हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसै गरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए । 

किन हुन्छ हिस्टेरिया 

– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।– पढाइलेखाइको तनाव ।– पारिवारिक तनाव ।– नाता सम्बन्धको तनाव– आर्थिक तथा सामाजिक तनाव– प्रतिस्पर्धाको तनाव– कामनापूर्ति नहँदाको तनाव– इज्जत प्रतिष्ठाको तनाव आदि ।– यौनसम्बन्धी समस्याहरूले तनाव– सङ्कीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो । 

यस्ता छन् लक्षण 

–हिस्टेरिया भयो भने बेहोस हुने ।–अदृश्य शक्तिले छोप्ने ।– हात खुट्टा झमझमाउने र लाटो हुने ।–घाँटीमा डल्लो अड्केको महसुस हुने ।– वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने ।– छिटोछिटो सास चल्ने ।–हातखुट्टा नचल्ने ।–आवाज बन्द हुने ।–आँखा नदेख्ने ।–रुने, चिच्याउने, काम्ने ।–उत्तेजित हुने ।–कुटपिट गर्ने, कपडा च्यात्ने ।–सम्झना शक्ति हराउने आदि ।कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् । 

कारण 

हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्त्व दिएको देखिन्छ । यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ । 

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ । 

महिलालाई किन बढी 

– महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् ।– उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ ।– जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ ।– किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो ।– किशोरीहरू परिवार र समाजबाट बढी नियन्त्रण हुनु ।– महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता ।– महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु ।– पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ । 

हिस्टेरिया र अन्य मनोरोग 

हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुन सक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हन सक्छन् । आफैँ तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायताबिना ठिक हुन मुस्किल हुन्छ । 

हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरू ‘डिप्रेसन, आत्तिने रोग’ उत्पन्न हुन सक्दछन् । अन्धविश्वास, कुरीति, चेतनाको कमी नै अविकसित देशमा हिस्टेरियाको कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो । देवीदेवता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतमाथिको अन्धविश्वासले यो रोग लाग्नमात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ । 

अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरू देखिएको खण्डमा विवाहले हिस्टेरिया ठिक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसैकसैलाई तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठिक पारेको हुन सक्छ । कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ । बुझ्नुपर्ने कुरा विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठिक हुन्छ । हिस्टेरियाको उपचार आवश्यक छ । 

उपचार 

हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । 

यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । 

हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड९बडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =