योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय योग दिवस’ का अवसरमा पोखरामा भारतीय राजदुतावासद्वारा आयोजित विशेष योग शिविरमा सहभागी हुँदै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न दैनिक योग र ध्यान अनिवार्य रहेको उल्लेख गरे ।

नेपालको भौगोलिक विशिष्टता र ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले हिमालयको फेदमा ऋषिमुनिहरूले तपस्या गरी योगको परम्परालाई अगाडि बढाएकाले नेपाल योगका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए ।

उनले पोखरालाई योग गन्तव्यका रूपमा प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको समेत जानकारी दिए । उक्त अवसरमा उहाँले विगत तीन वर्षदेखि पोखरामा नियमित रूपमा योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदुतावासप्रति आभार व्यक्त गरे ।

यस्ता कार्यक्रमले नेपाल र भारतबीचको परापूर्वकालदेखिको जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने उनको विश्वास छ ।

उनले भने, ‘आज अन्तर्राष्ट्रिय योग दिवस हो । संयुक्त राष्ट्रसंघले पनि पारित गरेअनुसार प्रत्येक वर्ष जुन २१ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ । नेपालको सन्दर्भमा, भारतको राजदुतावासले विगत तीन वर्षदेखि पोखरास्थित रङ्गशालामा आफ्नो तर्फबाट योग दिवसका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।’

संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =