विप्लव समूहको भूमिगत सञ्जाल, विकटताको नाममा मनपरी
काठमाडौं, ५ साउन । आज प्रकाशित पत्रिकाहरुमा सामाजिक विषयवस्तुका समाचारले प्राथमिकता पाएका छन् । कान्तिपुर दैनिकले बालुवाटारस्थित ललिता निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशराज पोखरेलले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेको समाचार छापेको छ ।
अन्नपूर्ण पोष्टले राजनीतिक विषयबस्तुलाई प्रमुख समाचार बनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालको नालीबेली छ । समाचारमा लेखिएअनुसार विप्लव समूहका चार वटा कमाण्ड र १२ वटा ब्युरो छन् । अन्नपूर्ण पोष्टमा वृद्धभत्ता माग्न गएका दैलेखको एक दम्पतीलाई मृत्यु दर्ताको प्रमाणपत्र दिइएको छ । भगवतीमाई गाउँपालिकाले मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई मृत्यु भइसकेको भन्दै असार १० गते प्रमाणपत्र दिएको हो ।
null
नागरिक दैनिकमा विकटताको नाममा व्यापारी व्यवसायीले मनपरी गरिरहेको समाचार छ । यो समाचार डोल्पाको हो । समाचारमा लेखिएको छ, ‘प्राकृतिक सुन्दरताले सम्पन्न डोल्पा भौगोलिक हिसाबले भने विकट छ । यही भौगोलिक विकटतालाई व्यापारी-व्यवसायीले कमाइ खाने भाँडो बनाएका छन् ।’
राजधानी दैनिकले सरकारी तथा निजी अस्पतालले होल बडी चेकअपको नाममा मनपरी शुल्क लिइरहेको समाचार छापेको छ । अस्पतालपिच्छे फरक शुल्क छ । अस्पतालहरुले एक हजार पाँच सयदेखि २५ सय रुपैयाँसम्म शुल्क लिने गरिएको समाचारमा उल्लेख छ । राजधानी लेख्छ- सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको हो ।
गोरखापत्र दैनिकले सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन अझै डेढ वर्ष लाग्ने पूर्वानुमान गरेको छ । गोरखापत्र लेख्छ, ‘काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।’
नेपाल समाचारपत्र दैनिकले राष्ट्रिय अभिलेखालयमा संग्रह गरेर राखिएका बहुमूल्य ऐतिहासिक सामग्रीहरु जोगाउन गम्भीर समस्या परेको समाचार छ । सर्वोच्च अदालतले राष्ट्रिय अभिलेखालय रहेको भवन खाली गर्न ताकेता गरेपछि समस्या भएको समाचारमा उल्लेख छ ।