सत्तारुढ वामपन्थी दल सिरिजाले संसदीय निर्वाचन हार्ने निश्चित

  

 

असार २३, ग्रिस। चार वर्षदेखि ग्रिसमा शासन गरिरहेको सत्तारुढ वामपन्थी दल सिरिजाले संसदीय निर्वाचन हार्ने निश्चित भएको छ । 

null

निर्वाचनको प्रारम्भिक गन्तिका आधारमा सत्तारुढ दल मध्य–दक्षिणपन्थी ‘न्यु डेमोक्रेसी’ पार्टीबाट पराजित हुने निश्चित देखिएको छ । प्रधानमन्त्री एलेक्सिस सिपरसले निर्वाचनमा हार स्वीकारेका छन् । 

‘नागरिकले तिनको निर्णय सुनाएका छन् । हामी जनताको मतलाई पूर्ण सम्मान गर्छौं,’ सिपरसले हार स्वीकार गर्दै भने । केन्द्रीय एथेन्समा बोल्ने क्रममा उनले आफूले ‘न्यु डेमोक्रेसी’का नेता किरियोकोस मिट्सोटाकिसलाई फोन गरेर जीतको लागि बधाई दिइसकेको बताए । 

‘म ग्रिक जनतालाई यो कुरा सुनिश्चित गराउन चाहन्छौँ कि भावि दिनमा एउटा जिम्मेवार र गतिशील प्रतिपक्षीको रुपमा हामी श्रमिक जनताको अधिकारको रक्षा गर्नेछौँ,’ सिपरसले भने, ‘न्यु डेमाक्रेसीको शासनमा हाम्रो सरकारले गरेका समाजिक न्याय र श्रमिक हितका निर्णय उल्टाइँदैन भन्ने हामी आशा गर्छौं ।’ 

ग्रिसको गृह मन्त्रालयका प्रवक्ताले जारी गरेको प्रारम्भिक मतगणनाका आधारमा न्यु डेमोक्रेसीले ३९.८ प्रतिशत मत जित्ने प्रक्षेपण छ । त्यस अवस्थामा पार्टीले ३०० सदस्यीय ग्रिसको संसदमा १५४ सिट जित्नेछ । यस्तोमा उसको गठबन्धनबिना नै एकल रुपमा सरकार गठन हुनेछ । 

सन् २०१५ सेप्टेम्बरमा भएको निर्वाचनमा सत्तारुढ पार्टी सिरिजालेले १४९ सिट जितेको थियो भने न्यु डेमोक्रेसीे ७६ सिट जितेको थियो । 

आइतबारको मतले जनतामा सिरिजाको चार वर्षे शासनमा ल्याइएको मितव्ययिता कार्यक्रमका कारण असन्तोष रहेको देखिएको छ । ग्रिसले सामना गरिरहेको ऋण संकटबाट पार पाउनका लागि अन्तर्राष्ट्रिय ऋण दिने क्रममा दाता देशले ग्रिसको बजेटमा अत्यन्त अभावयुक्त मितव्ययिता अपनाउन बाध्य पारेका थिए । 

सन् २०१० मा गम्भिर आर्थिक संकटमा फसेको ग्रिस अघिल्लो वर्ष अगस्टमा मात्र त्यसबाट बाहिर आएको थियो । 

त्यस अतिरिक्त विगतमा म्यासेडोनिया भनिने छिमेकीको देशको नाम ‘नर्थ म्यासेडोनिया’ राख्ने सहमति पनि ग्रिसमा निक्कै अलोकप्रिय भएको थियो । 

तीन दशकदेखि दुई देशबीच कायम कुटनीतिक गतिरोध अन्त्य गर्ने प्रयासमा सिरिजाको अग्रसरतामा भएको सहमतिलाई ग्रिसमा छिमेकी देशसँग झुकेको रुपमा बुझिएको थियो । 

न्यु डेमाक्रेसीका ५१ वर्षे नेता मिट्सोटाकिसले थप सुधार गर्ने वाचासहित चुनाव प्रचारमा संलग्न भएका थिए । उनले थप राम्रो आर्थिक, प्रशासनीक र समाजिक सामार्थ विकास गर्ने कार्यक्रम ल्याउने तथा चुनाव जितेमा रोजगारी बढाउने र करमा कमी ल्याउने वाचा पनि गरेका थिए । 

एथेन्स निवासी एक जना राजनीतिक विश्लेषक पनोस पोलीजोइडिसले न्यु डेमोक्रेसीको जितले ‘देश संकटबाट उभ्रेर सामान्य अवस्थामा फर्किएको संकेत गरेको बताए ।’ 

सरकारी तथ्याङ्क अनुसार यस निर्वाचनमा ९९ लाख मानिस मतदाताको रुपमा दर्ता भएको थिए । तीमध्य पाँच लाख २० हजार पहिलो पटक चुनावमा सहभागी हुँदै थिए । विदेशमा बस्ने ग्रिक नागरिकलाई भने मतदानको अधिकार दिइएको थिएन । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *