सरकारसँग वार्ता गरिरहेका माईला लामा किन पक्राउ परे ? को हुन् उनी ?
साउन ५, काठमाडौं । काठमाडौंमा नेत्रविक्रम चन्द विप्लव समूहले मच्चाएको चन्दा आतंकको मुख्य सूत्रधार भन्दै प्रहरीले शनिबार मध्य रातमा माईला लामालाई नियन्त्रणमा लिएको छ ।
विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न काँडाघारी पुगेका लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
null
विप्लवका उपत्यका ब्युरो इन्चार्ज रहेका माइला लामा पनि सरकारी वार्ता टोलीका सदस्यसँग पटकपटक वार्ता र संवादमै थिए । सरकारी वार्ता टोलीका संयोजक नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सोमप्रसाद पाण्डेसँगको सम्पर्कमा थिए ।
लामासँग पनि पाण्डेले धेरै पटक भेटवार्ता गरिसकेका थिए । पहिले विप्लव समुहमा रहेर पूर्वी कमान्ड इन्चार्ज रहेका लामा पछिल्लो दिनमा पार्टी प्रकाशन विभागको जिम्मेवारीसहित काठमाडौं आएका थिए ।
पक्राउ परेका उनलाई गत फागुनमा विप्लव समुहले गराएको नख्खु बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारीे छ । घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए । उनीमाथि सोही घटनाको कर्तव्य ज्यान मुद्धा र राज्यविरुद्धको कसूर अपराधअन्तर्गत मुद्धा चलाउने तयारी छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट उम्मेद्धवार थिए । तर उनी पराजित भए । लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्ष समेत थिए । तर, मोहन वैद्यसले पार्टी बिभाजन गरेपछि उनीसँगै गए । फेरि २०७१ मसिरमा नेत्रबिक्रम चन्द विप्लवले पार्टी फुटाएपछि माईला लामा पनि उतै लागे ।
माओवादी जनयुद्धको क्रममा उनले हातका केही औंला गुमाएका छन् । बमका छर्रा लागेका कारण उनका हातका औँलामा क्षति पुगेको छ । यस्तै सुन्ने क्षमता र देख्ने क्षमता पनि उनको कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन् । गाउन मात्र नभई उनी संंगीत दिन समेत माहिर छन् ।
माईला लामाले थुप्रै गीत समेत लेखेका छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।