माझी मुसहरले पाए पक्की घर


चितवन, २ असार । चितवनको रत्ननगर नगरपालिका ७ मालपुरका ४ जना माझी मुसहरको परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । रत्ननगर नगरपालिका, रत्ननगर वडा नम्वर ७ र सपना भिलेज सोसल इम्प्याक्टको सयुक्त लगानीमा घर निर्माण गरिएको थियो । करिव एक वर्षको अवधिमा निर्माण गरिएको ४ वटा घर सम्वन्धीत घरधनीलाई सोमवार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वन,वडाध्यक्ष लालवहादुर भट्ट,सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले सयुक्त रुपमा घर हस्तान्तरण गरेका थिए । स्थानीय बीरेन्द्र माझी, आदेश माझी, सुरज माझी र गणेश माझीका लागि नयाँ घर निर्माण गरिएको हो । नगरपालिका र वडा कार्यालयको १० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ९० प्रतिशत लगानीमा करिव साँढे १४ लाख खर्चिएर एक तल्ले ४ वटा घर निर्माण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।
null
गिरीका अनुसार इम्प्याक्टले १२ लाख,नगरपालिका र वडा कार्यालयले समान १ लाख २० हजार लगानी गरेका हुन् । घर हस्तान्तरण गर्दै रत्ननगरका मेयर नारायण वनले सिमान्तकृत समुदायबाट नगर समृद्धीको आधार तय भएको बताए । गरिव, पिछडावर्ग, सिमान्तकृत समुदायको विकास विना समृद्धी हुदैन मेयर वनले भने – ग्रिनसिटीसहित समृद्ध नगर वनाउने अभियानमा मुसहरको घर निर्माणले एउटा इट्टा थपेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्टले रत्ननगर ८ मा गरिव परिवारका लागि ४ वटा घर यस अघि निर्माण गरिसकेको छ ।
सोसल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतका अनुसार सपना भिलेजले विभिन्न विद्यालयमा स्टेशनरी वितरणदेखी दिवा खाजा संचालन, शौचालय, खानेपानी निर्माण, लाईव्रेरी निर्माण, नेचर गाईड तालिम लगायत सिद्धीको विकासका लागि परियोजना संचालन गर्दै आएको छ । केही समयपछि चितवनको काउलीमा सिद्धीकै जस्तो परियोजना संचालन गर्ने, ड्राईभिङ तालिम दिने, अतिथी सत्कार तालिम दिने योजना बनाएको कार्यक्रम निर्देशक बस्नेतले बताए । सपना भिलेज सोसल इम्प्याक्टले कालिका नगरपालिका १० र ११ नम्वर वडा रहेको सिद्धीमा प्रकृतीको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम नामक परियोजना संचालन गरिरहेको छ ।
