पाकिस्तानमा आर्थिक संकट, डर र त्रासमा इमरान खान

पाकिस्तान अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ ।
मंगलबार विपक्षी पार्टीको भारी हंगामाबीच पाकिस्तानमा बजेट पेश गरियो । बजेट पेशपछि इमरान खानले आधा रातमा देशलाई सम्बोधन गरे । पीएम खानको पुरै सम्बोधनमा चिन्ता र डरको छाया देखियो । इमरानले भने, ‘मुलुक मुश्किलमा छ । यस मुश्किलबाट निस्कनका लागि पुरै समुदाय एकजुट हुनुपर्छ ।’
null
इमरान खानले भने, ‘पहिलेको सरकारले पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्ब रुपैयाँबाट ३० हजार अर्ब रुपैयाँ सम्म पुर्यायो । जरदारी र नवाज शरीफको सरकारमा पाकिस्तानमाथि विदेशी ऋण ४१ अरब डलरबाट ९७ अरब डलर पुग्यो । तीनीहरुको १० वर्षको शासनमा यस्तो भएको हो ।’
पाकिस्तानी प्रधानमन्त्री खानले त्यसकाे नतिजाले पाकिस्तानसँग डलर कमी भएको बताए । उनले भने, ‘हामीसँग त्यति धेरै ऋणको किस्ता तिर्ने पैसा छैन । हामी डराएका छौं कि कतै पाकिस्तान ‘डिफल्टर’ नभइदिओस । यिनीहरुले कल्पनासमेत गरेका थिएनन् कि ‘डिफल्टर’ भए पछि के हुन्थ्यो भनेर । बोरामा रुपैयाँ भरेर लगियो भने केही रोटी मिल्थ्यो । हाम्रो अवस्था पनि भेनेजुयएलाको जस्तै भैसकथ्यो । जबबाट म सरकारमा आएँ, त्यो बेलादेखिनै दबाबमा रहेँ । धन्य छ कि हाम्रा मित्र राष्ट्र यूएई, साउदी अरब र चीनबाट सहयोग पाइयो ।’
उनले आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध एक आयोग बनाएको जानकारी गराउँदै उक्त आयोग बलियो रहेको बताए । जसले राष्ट्रलाई विनाश गरे उनीहरुले नै आफूसँग जवाफ माग्ने गरेको उनले बताए । उनले भने, ‘अब हामीले जवाफ माग्ने समय आएको छ । म प्रधानमन्त्रीका रुपमा सुरक्षाबाहेक सबै खर्च आफैँ उठाउँछु । मेरो आफ्नो खर्चमा पुरा हुँदैन तर यो बलिदान मुलुकको लागि हो । म खुशी छु, कि यही बलिदान पाकिस्तानी सेनाले पनि दिए । हरेक दिन उनीहरु आतंकवादिसँगको युद्धमा शहीद हुन्छन् तर पनि आफ्नो रकम बढाउँदैनन् ।’
प्रम खानले पाकिस्तानी खर्चमा ५० अरब रुपैयाँ कटौति गरेको पनि जानकारी गराए । क्याबिनेटको १० ज्याला कम गरिएको उनले बताए । उनले भने, ‘ मुलुक मुश्किलमा छ । हामी सबै मिलेर बलिदान दिनुपर्छ । हामी आफ्नो लक्ष्य हासिल गर्न अवश्य सफल हुनेछौँ । हामी समस्या अन्त्य गर्नेछौँ । हामी धेरै कर लिनेछौँ । यो मुश्किल घडीबाट पार हुनका लागि हामीले यो गर्नु जरुरी छ । ३० जुनपछि जोसँग बेनामी अकाउन्ट छ, ती सबै जफत गरिनेछ । यो भन्दा पहिले पाकिस्तानीसँग एक मौका छ, सार्वजनिक गर्नुहोस् ।’
पाकिस्तानले आईएमएफबाट २२ औँ पटक ऋण लिइसकेको छ भने अहिले ६ अर्ब डलर ऋणको स्वीकृति पनि मिलिसकेको छ । तर ऋणको बदलामा पाकिस्तानले आईएमएफका कयौँ शर्तहरु मान्नुपर्ने हुन्छ, जसले महंगी र कर बढ्नेछ ।
इमरान खानको सरकारले आयकरको अधिकतम दर २५ प्रतिशतबाट ३५ प्रतिशत बढाएको बीबीसीले जनाएकाे छ । सरकारको लक्ष्य नयाँ वित्तिय वर्षमा आयकरबाट २५८ अरब जुटाउने रहेको छ ।
पाकिस्तानको आर्थिक वृद्धिदरमा ३.३ प्रतिशतले गिरावट छ । प्रतिव्यक्ति आय पनि प्रतिवर्ष १,६५२ डलरबाट घटेर १,४९७ डलर भएको छ । पाकिस्तानका आर्थिक सल्लाहकारले पाकिस्तान करिब १०० अरब डलर विदेशी ऋण फिर्ता गर्ने स्थितिमा नरहेको बताएका छन् ।
हालसालै पाकिस्तानले यूएईबाट दुई अरब डलर ऋण प्राप्त गरेको थियो । साउदी अरबका क्राउन प्रिन्स मोहम्मद विन सलमानले पनि एक एएओयूमा हस्ताक्षर गरेका छन्, जसमा अर्को ६ वर्षमा २१ अरब डलर लगानीको कुरा रहेको उल्लेख छ । तर पाकिस्तानलाई ट्रयाकमा ल्याउनका लागि यति ऋणले पुग्दैन ।
इमरान खानले मुलुक चलाउन पर्याप्त पैसा नभएको बताइरहेका छन् । त्यसैले धेरै भन्दा धेरै पाकिस्तानी नागरिक करको दायरामा आएका छन् । इमरानले पाकिस्तानी नागरिकलाई आफ्नो सम्पत्ति सार्वजनिक गर्नका लागि ३० जुनसम्मको समय दिएका छन् । बेनामी सम्पत्तिको सम्बन्धमा सोमबार पाकिस्तानको नेश्नल अकाउन्टविलिटी ब्यूरोले पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई पक्राउ गरेको थियो ।
यता पाकिस्तान पीपल्स पार्टीका प्रमुख बिलावल भुट्टो जरदारीले खान डराएको आरोप लगाए । उनले भने, ‘इमरान खान डराइरहेका छन् । उनलाई सरकार ढल्ने चिन्ता छ । त्यसैले आधी रातमा मुलुकलाई सम्बोधन गरे । तर मनमानीले काम चल्दैन । कर, महंगी र बेरोजगार बढाएर तपाईं सरकार चलाउन सक्नुहुन्न । यो बजेट आर्थिक रुपले आत्महत्या गर्नु सरह हो ।’








