पारमाणविक पदार्थबारे सांसदहरुको आ–आफ्नै धारणा, निजी क्षेत्रलाई नदिन सुझाव


असार ५, काठमाडौं । पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सांसदहरुले सरकारलाई सचेत गराएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा भएको पारमाणविक तथा रेडियोधर्मी पदार्थमाथिको छलफलमा सांसदहरुले सरकारलाई सचेत गराएका हुन् ।
null
‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सत्तारुढ नेकपा सांसद योगेश भट्टराईले सैन्य गठबन्धनहरुबाट हामी अलग रहनुपर्ने बताए ।
उनले पहिलो पटक उक्त कानुन निर्माण लागेको भन्दै यसमा थप सचेत हुनुपर्ने धारणा राखे उनले भने, ‘विधेयकको कतिपय ठाउँमा अनुन्धान केन्द्र खेल्न सक्ने, प्रशोधन गर्न सक्ने कुराहरुमा निजी क्षेत्र पनि संलग्न हुन सक्ने कुराहरु आएका छन् । हामी पहिलो पटक यो कानुन निर्माण गर्दै छौं भने अहिले नै निजी क्षेत्रलाई संलग्न गराउने तहमा लानु उपयुक्त हुँदैन ।’
त्यस्तै नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पारमाणविक पदार्थको प्रयोगको अधिकार निजी क्षेत्रलाई दिन नहुने स्पष्ट पारे ।
उनले त्यस पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गरे ।
अर्का सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रलाई पारमाणविक पदार्थको प्रयोगका लागि स्विकृति नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले पारमाणविक पदार्थको उपयोग जथाभावी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो ।
