‘पार्टीले दिएको जिम्मेवारीबाट पछि हट्दिन’

जेठ ८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) का सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताएका छन् ।
केही दिन अघि राजीनामा दिने घोषणा गरेका सहअध्यक्ष तामाङले बुधबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा तत्कालका लागि पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताएका हुन् ।
null
‘पार्टी एकताका लागि सबैले त्याग, समर्पण गर्नुपर्छ, म पनि गर्न तयार छु । राजीनामा दिन्नँ । पार्टीले दिएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ । तर पछि मेरो कामको मूल्यांकलन गरेर मलाई पार्टीले अर्को जिम्मेवारी दिनुपर्छ’, रञ्जित तामाङले भने ।
गत शुक्रबार (जेठ ३ गते) सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको घोषणा गर्दै नेतृत्वको नाम सार्वजनिक गरेको थियो । पार्टीले घोषणा गरेको नेतृत्वबाट असन्तुष्ट भएका उनले आफ्नो अपमान भएको भन्दै राजीनामा दिने बताएका थिए ।
पूर्व एमालेको भागमा परेको विद्यार्थी संगठनको नेतृत्वमा नविना लामा थिइन्। एमालेको भागमा परेपछि उनै विद्यार्थी संगठनको अध्यक्ष हुनुपर्नेमा महासचिव ऐन महरलाई संयोजक बनाइएको छ। अनेरास्ववियूका महासचिव महरलाई अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक बनाएसँगै उनी असन्तुष्ट बनेका हुन् ।








