स्वास्थ्य तर्फः ६८ अर्ब ७८ करोड बजेट, दुवाकोटमा वीर अस्पतालको भवन बनाउन ४० करोड, रामराजालाई ४० करोड

 

जेठ १५, काठमाडाैँ । सरकारले २ नं. प्रदेशमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न रु ४० करोड विनियोजन गरेको छ । सप्तरीको राजविराजमा उक्त प्रतिष्ठान निर्माण गरिने छ । 

मनमोहन कार्डियोको पूर्वाधार निर्माण, बाँकेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन, सिराहामा क्यान्सर अस्पताल निर्माण गरी वीपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा पुर्याउन र जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ । 

null

सरकारले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिङ टेस्ट स्थापना गर्नका लागि अनुदानको ब्यवस्था गरिएको छ । वीर असपताललाई अन्तराष्ट्रिय स्तरको बनाउन भक्तपुरको दुवाकोटमा अस्पतालको सेवा विस्तारका लागि ४० करोड विनियोजन गरिएको छ । यसबाट आगामी वर्षमा अस्पतालको विस्तृत अध्ययन सम्पन्न गरी आगामी वर्षमा आधुनिक भवन निर्माण कार्य अघि बढाइने छ । 

३ वर्षभित्र सबै प्रदेशहरुमा अत्याधुनिक निदान केन्द्रहरु सञ्चालनमा ल्याइनेछ । प्राथमिक अस्पतालहरुमा २४ सै घण्टा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइनेछ । 

स्वास्थ्य क्षेत्रमा विषेश प्राथमिकता दिइएको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । स्थानीय तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो बनाइने छ । सबै नेपालीलाई स्वास्थ्य विमामा समेट्ने सरकारको लक्ष्य छ । यसका लागि आगामी वर्षमा स्वास्थ्य विमाले समेट्ने आधारभूत स्वास्थ्य सेवाहरु स्थानीय स्वास्थ्य केन्द्रबाट उपलब्ध गराईने छ । 

विमितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गुणस्तरका न्यूनतम मानकहरु तोकिनेछन् । ७७ वटै जिल्लाहरुमा स्वास्थ्य विमा सुरु गर्नका लागि ६ अर्ब विनियोजन गरिएको छ । 

महिलाहरुमा देखिएको सर्भाइकल तथा स्तन क्यान्सर र घातक रोग पहिचानका लागि निःशुल्क स्वास्थ्य परिक्षणको ब्यवस्था गरिएको छ । र, सर्भाइकल क्यान्सर न्युनिकरण गर्न निःशुल्क खोप कार्यक्रम ल्याइने छ । विपन्न नागरिकलाई ८ प्रकारका जटिल र असाध्य रोगको निःशुल्क उपचारका लागि विगतको अनुदानमा बृद्धि गरी २ अर्ब २० करोड पुर्याइएको छ । गर्भवती तथा सुत्केरी महिलालाई दिइने खर्चलाई रु २ अर्ब २२ करोड विनियोजन गरिएको छ । 

५२ हजार स्वास्थ्य स्वयंसेवी महिलालाई वार्षिक ३ हजार यातायात खर्च दिन १५ करोड विनियोजन गरिएको छ । पश्चिम तराईमा देखिएको सिकलसेल एनिमिया रोग रोकथामका लागि विषेश कार्यक्रम गर्न बजेट विनियोजन गरिएको छ । क्षयरोग, एड्स, यौनरोग तथा कुष्टरोग नियन्त्रणका कार्यक्रमका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको छ । 

स्थानीय तह, प्रदेश तथा विभिन्न संघसंस्थासंग सहकार्य गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न १ अर्ब विनियोजन गरिएको छ । स्थानीय तहमा एक प्राविधिक अस्पताल निर्माण गरी सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सकको ब्यवस्था गरिने भएको छ । आधारभूत स्वास्थ्य सेवा सबै स्थानीय तहका वडामा उपलब्ध गराइने भएको छ । यसका लागि ५ अर्ब विनियोजन गरिएको छ । 

निर्माणाधिन अस्पतालहरुको भवन निर्माण सम्पन्न गर्न रु ५ अर्ब ५७ करोड र १५ शैयाको प्राथमिक स्वास्थ्य अस्पताल स्तरोन्नती गर्न रु १ अर्ब ३६ करोड विनियोजन गरिएको छ । 

सवै प्रदेशका कम्तिमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने निती अनुरुप कोशी अञ्चल अस्पताल, भरतपुर अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पतालको स्तरोन्नती गर्न रु १ अर्ब विनियोजन गरिएको छ । 

गण्डकी प्रदेशमा पञ्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र कर्णाली प्रदेशमा सुर्खेत क्षेत्रिय अस्पतालबाट यी सेवा प्राप्त गर्न सकिनेछ । स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा सरकारले ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *