सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रम आयोजना

 

जेठ, १५, काठमाडाैँ ।  मङ्गलवार नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रमको आयोजना गरिएकाे छ । 

नाचघरको मिनी प्रेक्षालयमा आयोजित कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र खाँडो जगाउने कार्यक्रम प्रस्तुत गरिएको थियो । लोपोन्मुख अवस्थामा रहेको नेपाली लोककविताको खोजी, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम संभवतः नेपालकै इतिहासमा औपचारिक रूपमा प्रथम पटक आयोजना गरिएको हो । 

null

 

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले तीन संस्थाको आयोजनामा भएको सिलोक जुहारी कार्यक्रमले दूरगामी प्रभाव छाड्ने बताए । “यस कार्यक्रमबाट लोप हुन लागेको संस्कृतिले पुनर्जीवन पाउनेमा आशा गर्न सकिन्छ” उनले भने, “उखान–बखान हाम्रा साहित्यका स्रोत हुन्, आजको कार्यक्रम चिरकालसम्म अङ्कित हुनेमा मेरो विश्वास छ ।” 

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सरकारको प्रतिनिधि संस्था प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृतिको संरक्षण र संर्वधन गर्नेतर्फ प्रभावकारी ढङ्गबाट काम गरिरहेको बताए । “हामीले गर्ने यस प्रकारका कार्यहरूले लोककला तथा लोकसंस्कृतिका क्षेत्रमा सरकारको नीति तथा कार्यक्रमलाई साकार बनाउन सहयोग पुर्याउछन् ।” 

 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले लोकसँस्कृतिको पुनः जागरण हुन थालेको बताए । उनले नेपालभित्र लोक कविता र लोकसँस्कृतिको अथाह स्रोत रहेको भन्दै त्यसको खोज, अनुुसन्धान र संरक्षण आजको आवश्यकता भएको धारण प्रकट गरे । 

प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले देशभित्र लोककविता, लोकसाहित्य र लोकसंस्कृतिको खानी रहेको तर पुरानो र मौलिक सिलोक जुहारी समय क्रममा लोपोन्मुख अवस्थामा रहेको हुँदा यसको संरक्षण र प्रर्वधनका निम्ति यस कार्यक्रम आयोजना गरिएको बताए । उनले दर्शकलाई वास्तविकता महसुस होस् भन्ने उद्देश्यले कार्यक्रमलाई केही नाटकीय रूप दिएको पनि सुनाए । 

साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले देशका पूर्व र पश्चिमका चुनिएका सिलोके कवि–कलाकारलाई एकै ठाउँमा जम्मा गराई सिलोक जुहारी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस प्रकारको कार्यक्रम क्रमशः गर्दै जाने बताए । 

 

लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले नेपालमा लोकसंस्कृतिको खानी रहेको तर आधुनिताले परम्परागत र मौलिक लोकसंस्कृति हराउँदै गएकाले तिनको अनुसन्धान, संरक्षण र सम्बर्धन तर्फ सम्बन्धित सबैको ध्यान जानु पर्ने बताए । 

कार्यक्रममा डा. ध्रुव भट्टराईले ‘नेपाली लोक कविताको स्वरूप, परम्परा र प्रस्तुति’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा वास्तविकताको झल्को दिने गरी प्रेक्षालयको मञ्चमा विवाह मण्डप तयार पारिएको थियो । ध्वजापताका सहित जग्गे पनि बनाइएको थियो । पञ्जेबाजाको धुनमा बजाउँदै दुलही लिन जन्ती आएको, दुलही पक्षले जन्ती पर्सिएको, दुलही र दुलाहा पक्षबीच सिलोक जुहारी खेलिएको थियो । कार्यक्रममा खाँडो जगाउने कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

समूहगत रुपमा भएको सिलोक जुहारीमा ताप्लेजुङका तुल्सीप्रसाद गिरी, झापाका टङ्कप्रसाद भट्टराई र थरेन्द्र बराल, तेह्रथुमका पदमप्रसाद निरौला, ओखलढुङ्गाका माधवप्रसाद दाहाल र डिल्लीप्रसाद दाहाल, भोजपुरका चण्डीप्रसाद नेपाल र सिन्धुपाल्चोकका राममणि आचार्यकाे सहभागी रहेकाे थियो । 

यसै गरी कूटपद्यमा पाल्पाका लक्ष्मीचन्द्र पंगेनी र लक्ष्मीमाया तिवारी तथा स्याङ्जाका रुक्माङ्गत पाठक र नारायण पाठक सहभागी थिए । लोकअन्ताक्षरीमा नवलपरासीका ८६ वर्षीय नुमनाथ अधिकारी, सिन्धुपाल्चोकका विष्णुप्रसाद पौडेल र पाल्पाका पंगेनी र तिवारी सामेल भएका थिए । 

खाँडो जगाउने पूर्वको शैलीमा झापाका टङ्कप्रसाद र पश्चिमतिरको शैलीमा नुवाकोटका बलबहादुर थापाले प्रस्तुति दिएका थिए । ताप्लेजुङका सविता बराल, राधिका मिश्र र ज्योति निरौला, काठमाडौँका उषा भट्ट र ललिता पन्तले कार्यक्रममा सङ्गिनी गीतिनृत्य प्रस्तुत गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *