बारा पर्सा आँधीको अध्ययन गर्न मौसमविदको टोली जाँदै

काठमाडौं, २० चैत्र । मौसमविदको टोली विनासकारी आँधीबेहरीको अध्ययन गर्न बारा र पर्सा जाँदै छ । मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद सहितको टोली बुधबार त्यसतर्फ जान लागेका हुन् ।
टोलीमा वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झा छन् । उनीहरुले स्थलगत अवलोकन गर्ने छन् । यो टोलीले ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्चस्तरीय टोली बनाउने नबनाउने भन्ने निर्णयमा पुग्ने सरकारको तयारी छ ।
null
मौसमविदले सानो क्षेत्रमा मात्रै क्षति पुर्याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन् । आइतबार बेलुकीपख आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो । भने, ३ सय ८४ जना घाइते भएको गृहमन्त्रालयको तथ्यांक छ ।
आँधीले सयौं घर उजाडिएका छन् भने फलफूल र अन्नबालीमा पनि क्षति पुर्याएको छ । वायुमण्डलको माथिल्लो र तल्लो तहमा तातो चिसो हावा एकैचोटी बहदा हुरी आयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल जान खोज्ने संघर्षले भूमरी आएको र त्यसमा स्थानीय वायु पनि मिसिँदा धेरै क्षति भएको प्रारम्भिक अनुमान मौसमविदले गरेका छन् ।
सो दिन बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको मौसमविदले बताएका छन् । यसअघि नेपालमा ३० नटभन्दा शक्तिशाली आँधी आएको रेकर्ड थिएन ।








