सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय गोष्ठी सम्पन्न

 

चैत्र १९ दमक ।  आइतबारदेखि दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै हिजाे सम्पन्न भएको छ । 

भाषा, साहित्य, कला र संस्कृतिको विकास, सर्म्वधन प्रर्वधन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं. एकका प्रमुख माननीय डा. गोविन्द तुम्याहाङले समापन गरे। समापन समारोहमा बोल्दै प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको दाबी गर्दै, ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रर्वधनमा सहयोग पुर्याउने’ बताए । 

null

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रर्वधन को उदेश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताए । उनले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको अभिलेखीकरणमा प्रज्ञा–प्रतिष्ठान लागेको उल्लेख गर्दै  सङ्गोष्ठीमा भएका विमर्शबाट निस्किएको निष्कर्षले आफू उत्साहित भएको सुनाए । 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बताए । उनले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धनमा संवेदनशील रहेको सुनाए । आइतबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गोष्ठीको उद्घाटन गरेका थिए । उनले मन्तव्य व्यक्त गर्दै भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार आवश्यकतता अनुसार सहयोग गर्न तयार रहेको बताए । 

एक नंं प्रदेशका माननीय मुख्यमन्त्री शेरधान राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको सुनाउँदै चाँडै प्रादेशिक प्रज्ञा–प्रतिष्ठान गठन गरिने बताए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सात वटै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिलाई समेटेर नेपाल चिनाउने महाग्रन्थ प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानको योजना रहेको बताए । 

यसै गरी प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले सामाजिक विषयमा र बालसाहित्य तथा लोकर्वार्ता विभागका प्रमुख डा. देवी नेपालले बालसाहित्य, लोकसाहित्य र समकालीन नेपाली गजलका बारेमा बोलेका थिए । सङ्गोष्ठीमा ‘किरात मुन्धुम’ सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावतीले, ‘कोशी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’ बारे राजेश्वर थापाले, ‘कोशी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’बारे प्रा.डा. सोमप्रसाद खतिवडाले, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’बारे डा. डिल्ली प्रसाइँले, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’बारे उत्तम भट्टराईले र ‘धिमाल लोकसाहित्यको अवस्था’बारे डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

विभिन्न प्राज्ञिक सत्रहरूको अध्यक्षता प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, लोकबहादुर धिमाल, दधिराज सुवेदी लगायतले गरेका थिए । कार्यक्रममा कविता गोष्ठी तथा गजल सन्ध्या भएको थियो । उक्त अवसरमा चार आदिवासी समुदायका महलिा र पुरुष गरी दुई–दुई जना दोसल्ला ओढाई सम्मान गरिएको थियो । सङ्गोष्ठीमा एक नम्बर प्रदेशका विभिन्न जिल्ला स्रष्टाहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, पत्रकार तथा समाजसेवी चन्द्र भण्डारीका साथै सहभागीहरूले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *