साउदी अरब सरकारले ३७ जनालाई मारेर एकजनाको शरीर पोलमा झुण्ड्याएपछि..

एजेन्सी । साउदी अरब सरकारले ३७ जनालाई मारेर तीमध्ये एकजनाको क्षतविक्षत शरीर पोलमा झुण्ड्याएपछि अधिकारवादी समूहहरूले आपत्ति जनाएका छन् । एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो । कट्टरपन्थी मुलुक साउदीले मंगलबार तीन वर्षयताको सबभन्दा ठूलो आम मृत्युदण्ड दिइएको हो । 

 

मोहम्मद बिन सलमान देशको युवराज बनेपछि पहिलोपटक यति ठूलो संख्यामा मृत्युदण्ड दिइएको हो । मारिएकामध्ये ३४ जना अल्पसंख्यक शिया समुदायका मानिस भएको साउदीबाट भागेका अली अल अहमदले जनाएका छन् । उनका अनुसार, साउदीको इतिहासमा शियाहरूलाई मृत्युदण्ड दिइएको यो सबभन्दा ठूलो घटना हो । 

null

यी व्यक्तिहरूले अतिवादी विचारधारा प्रवर्द्धन गरेको र आतंकवादी सेलहरू गठन गरेकोले मृत्युदण्ड दिइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको तर्कअनुसार, उनीहरू धार्मिक तनाव चर्काउन र देशलाई अव्यवस्थाको दलदलमा फसाउन लागिपरेका थिए । 

केहीले कानून कार्यान्वयन अधिकारीलाई मारेका थिए भने, अन्यले देशको सुरक्षा संयन्त्रमा आक्रमण गरेका थिए र केहीले देशको शत्रुलाई सहयोग गरेका थिए । टाउको गिँडिएका एक व्यक्तिको शरीरलाई पोलमा झुण्ड्याएर सार्वजनिक स्थानमा राखिएको थियो । उनी सुन्नी लडाकू भएको बताइएको छ । 

साउदी सरकारले सबै मृत्युदण्ड कानूनबमोजिम नै गरिएको जिकिर लिएको भए पनि एम्नेस्टी इन्टरनेसनलले स्तब्ध बनाउने मृत्युदण्ड सिलसिलाप्रति चिन्ता व्यक्त गरेको छ । एम्नेस्टीका अनुसार, ११ जनालाई साउदी अरबको कट्टर शत्रु इरानका लागि जासूसी गरेको आरोपमा दोषी पाइएको थियो भने १४ जनालाई सन् २०११र१२ मा सरकारविरोधी आन्दोलनका बेलामा गरेको हिंस्रक कसूरका लागि मृत्युदण्ड दिइएको थियो । 

त्यतिखेर भएको प्रदर्शनले देशको पूर्वी प्रान्त हल्लाएको थियो । उक्त प्रान्तमा शिया अल्पसंख्यकहरू बस्छन् र उनीहरू शियाविरुद्धको विभेद रोक्नुपर्ने अनि राजनीतिक बन्दीलाई मुक्त गर्नुपर्ने माग राख्थे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *