विद्यार्थीको डेटिङ स्पट बन्दै नारायणी नदी किनार

फागुन २१, चितवन । नेपाली युवाहरुमा पाश्चात्य संस्कृतिको नक्कल गर्ने प्रवृत्ति बढ्दै जाँदा उनीहरु पढ्न जाने बहानामा घुम्न जाने क्रम बढ्दो छ । भर्खरै किशोरा अवस्थामा प्रवेश गरेका किशोर किशोरीहरुदेखि प्लस टु पढ्ने अधिकांश विद्यार्थीहरु कलेज बंक गरेर कलेज पोशाकमै रमाइलो र घुमफिरमै मस्त हुने गरेका छन् ।
घरमा कलेज जाने भनेर विद्यार्थीहरु बिहानै हिँड्छन् । कलेज बसमा जाने अधिकांश बिहान ५ बजेदेखि ६ बजेसम्ममा बाटोमा निस्किसक्छन् । विद्यार्थीहरु सार्वजनिक यातायातमा मुख्य बजारसम्म आउँछन् भने कलेज बसमा आउनेहरु ड्राइभरलाई हप्काउँदै बसबाट ओर्लन्छन् । विशेष गरी प्लस टू मा अध्ययनरत विद्यार्थीहरुमा कलेज बंक गर्ने प्रवृति मौलाउँदै गएको छ ।
null
उनीहरु कलेज समयमा कलेज पोशाकमै शहर आसपासका डाडाँकाडा, पार्क, गोरेटो अनि त्यस्ता सार्वजनिक स्थलहरुमा आपत्तिजनक अवस्थामा समेत भेटिने गरेका छन् । आफ्ना छोरा–छोरी कहाँ के गर्दै छन् भन्ने अभिभावकलाई सुँईकोसम्म नहुँदा विद्यालय तथा कलेजको पोशाकमा सजिएका युवाहरु पढ्न नगई साथीहरुसँग घुम्न जाने प्रवृत्ति बढ्दै गएको हो । यता, अभिभावक भने आफ्नो छोराछोरी विद्यालयमा अध्ययन गर्न गएको भन्दै घरमा ढुक्क भएर बस्छन् । आमाबाबुको लापरवाहीले गर्दा पनि किशोर किशोरीहरु साथी संगतमा पर्ने तथा नराम्रो लतमा फस्ने गर्छन् ।
कलेज जाने भन्दै घरबाट निस्किएर घुम्न हिँड्ने विद्यार्थीलाई चितवन प्रहरीले पटक पटक पक्राउ पनि गरिसकेको छ । कलेजको समयमा कक्षा ‘बंंक’ गरी घुम्न जाने गरेको गुनासो विद्यालय प्रशासन, अभिभावक र स्थानीयबाट पटकपटक आउन थालेपछि जिल्ला प्रहरी कार्यालय, चितवनले सार्वजनिक स्थलहरुमा शैक्षिक पोशाकमा सजिएका विद्यार्थीहरुको उपस्थिति रोक्नका लागि विभिन्न अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा राज रेग्मीले पढाइ छाडेर घुम्न जाने विद्यार्थीहरु लाई प्रहरीले भेटेको अवस्थामा सम्झाई बुझाई गर्दै अभिभावक तथा शैक्षिक संस्थाको जिम्मा लगाउने गरेको जानकारी दिए ।
विद्यालय पोशाकमा विद्यालय समयमा घुम्न जाने प्रवृत्ति राम्रो नभएको र यसले विद्यार्थीको पढाइलाई समेत प्रभावित पार्ने कारण हरेक शैक्षिक संस्थाले आफ्नो विद्यार्थीको बारेमा जानकारी राख्नुपर्ने प्रहरीको भनाइ छ ।
यता, कलेज पोशाकमै रमाइलो गर्न जाँदा उनीहरुको अध्ययनमा समेत नकारात्मक असर पर्ने र कलेज प्रशासन स्वयंमले नै विद्यालय पोशाकमा विद्यार्थीलाई बाहिर निस्कन दिन नहुने नारायणगढस्थित आदिकवी भानुभक्त बिद्यालय तथा व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी बताउँछन् ।
साथै उनले आफ्ना विद्यार्थीले कहाँ के गरिरहेका छन्, त्यसको पनि अनुगमन हुनुपर्ने तथा विद्यार्थीका विषयमा कलेज प्रशासन नै चनाखो हुनुपर्ने बताए ।
सार्वजनिक स्थानमा पुग्ने गरेका युवा विद्यार्थीहरुले समाजमा नपच्ने खालका हर्कतहरु समेत गर्ने गरेका छन् । विद्यार्थीहरुलाई सही बाटोमा हिडाउँनका लागि शैक्षिक संस्थाका साथै अभिभावक समेत चनाखो हुनुपर्ने देखिन्छ ।
विद्यार्थीहरुले कक्षा ‘बङ्क’ गर्नेक्रम बढेपछि उनीहरुको भविष्यमाथि गम्भीर प्रश्न चिन्ह् खडा भएको छ । अधिकांश युवापुस्ताहरुको डेटिङकै कारण पढाईमा समेत असर परेको छ । के कारणले आफ्नो छोराछोरीको पढाई बिग्रियो ? भनेर अभिभावकले सोधीखोजी नगर्नाले यस्तो विकिृतिमा युवापुस्ताहरु फस्दै गएका हुन् ।








