पृथकतावाद समाप्त भइसक्यो, विपक्षी त्यसै रुन्छन्ः प्रधानमन्त्री ओली

 

चैत ३, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग सरकारले ११ बुँदे सम्झौता गरेर पृथकतावादलाई सदाका लागि अन्त्य गरेको भएपनि विपक्षी त्यसै रोई कराइ हिँडिरहेको आरोप लगाएका छन् । 

विराटनगर महानगरपालिकासँगै सिमा जोडिएको मोरङको कटहरीस्थित जमटोकीमा विश्व बैंकको १६ करोड रुपैयाँको आर्थिक सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा निर्मीत एकिकृत फलफुल तथा तरकारि थोक बजारको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

null

उनले राउतले सार्वभौम नेपाली जनताको अभिमत अनुसार चल्छु भनेको बताउँदै जनअभिमत भनेको जनमत संग्रह नभएको स्पष्ट पारे । उनले भने, ‘पृथकतावाद समाप्त भयो । उसले जनताको अभिमत अनुसार चल्छु भन्या छ, प्रधानमन्त्रीले यो जनताले भने अनुसार चल्छु भन्या क्या हो ? स्पष्ट पारिदिनुप¥यो भन्छन् बा अचम्म छ । कसले विदेशीले भने अनुसार चल्छु भन्नुपर्ने हो की ?’ 

प्रधानमन्त्री ओलीले मुलुकबाट विखण्डनवाद समाप्त भएको बताउँदै भने, ‘दिपावली गर्नुपर्ने, खुशियाली मनाउनुपर्ने तर राष्ट्रघात भयो भनेर झुटो प्रचारवाजी गरिएको छ । इतिहासमा तपाईंहरुले जवाफ दिनुपर्छ । यस्ता अभिव्यक्तिहरुले भलो गर्दैन ।’ 

प्रधामन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई ‘लुटेरा’ को संज्ञा दिएका छन् । ‘एउटा समुह छ, त्यसले जो सँगपनि लुटपाट गर्ने, आतंक मच्चाउने, भनेजति पैसा दिएन भने मार्ने, बम पड्काउने, घर उडाउने, गाडी जलाउने जस्ता काम गर्दै हिँड्छ । केका लागि भन्दा पैसाका लागि, सरकाले भन्यो यो लुटेराहरुलाई कारबाही गछौँ । भन्दा पनि विपक्षी धुरु धुरु रोए’, उनले भने ‘त्यो समुहले बाटो अहिल्यै सच्याएन भने कसरी सच्याउनुपर्छ हामी बताउँछौँ । यो देशमा जलश्रोतको विकास गर्न नपाइने ? सञ्चार र आइटिको विकास हुन नदिने ? टावर टावरमा पड्काउने ? विकासमा अवरोध सिर्जना र लुटपाट मच्चाएपछी प्रतिबन्द लगाइएको हो ।’ 

प्रधानमन्त्री ओलीले संविधान अन्तर्गतका गतिविधिहरु गर्न सबैलाई अधिकार रहेको बताउँदै असामाजिक, हिंसा र लुटपाट तथा विध्वंसात्मक क्रियाकलापका लागि सरकारले कुनै छुट नदिने चेतावनी दिए । 

उनले अब हिंसा र आतंकलाई सरकारले कुनैपनि छुट नदिने बताउँदै ढुक्कसँग विकास निर्माणको काम गर्न सबैलाई आग्रह गरे । 

प्रधानमन्त्री ओलीले फलफुल तथा तरकारी थोक बजार स्थानीय जनताको लागि सरकारले निर्माण गरिदिएको बताउँदै उत्पादित कृषिवस्तु सोही बजारमा लगेर बिक्री गर्न आग्रह गरे । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई एकिकृत फलफुल तथा तरकारी बजारको साँचो हस्तान्तरण गरे । 

सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले संघीय सरकारबाट निर्माण भई प्रदेश सरकारमा हस्तान्तरण हुनुले संघीयताको मर्मअनुसार सरकार चलेको सन्देश गएको बताए । उनले तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पाउने यो नै प्रदेशको मुख्य बजार भएको चर्चा गरे । ‘अत्याधुनिक कृषि बजार प्रदेश सरकारलाई हस्तान्तरण भएको छ’, उनले भने, ‘अब चाँडै प्रदेश सरकारले निर्देशिका बनाएर सञ्चालनमा ल्याउने छ ।’ 

५ बिगाहा २ धुर क्षेत्रफलमा निर्माण सम्पन्न भएको जमटोकीको थोक बजार निर्माणमा करिब १६ करोड रुपैयाँको लागतमा विश्वबैंकको सहयोगमा निर्माण भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले जानकारी दिए । 

उनले पचास वर्षसम्मको लागि जग्गा भाडामा लिएर अत्याधुनिक फलफूल तथा तरकारी थोक बजार निर्माण गरिएको बताउँदै भने, ‘२०६८ सालमा कटहरीको जनप्रिय माविको ४ बिगाहा २ कठ्टा र कटहरी गाउँपालिकाको करिब १८ कठ्ठा २ धुरसमेत जग्गा भाडामा लिने सहमति भई निर्माणको काम थालनी भएको थियो ।’ 

एकिकृत फलफुल तथा तरकारी थोक बजारमा थोक बिक्री कक्ष, कृषक बिक्री सेड , विभिन्न ३० वटा स्टल, प्रशासकीय भवन, बैंक शाखा, चमेना गृह, सार्वजनिक शौचालय, मेनजेर आवास, कृषक अतिथि गृह, गार्ड आवास, फोहोर संकलन केन्द्र, लोडिङ अनलोडिङ क्षेत्र, डिप ट्युबेल, पानी प्रशोधन केन्द्र तथा पार्किङ क्षेत्रको सुविधा छ । 

थोक र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै प्लट निर्माण भएको छ । बजारभित्र एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल अटाएका छन् । तीन सय ५१ स्क्वायर मिटरमा खुद्रा बजार छ । बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल लगेर बिक्री गर्न पाउने छन् । एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल रहने व्यवस्था मिलाइएको छ । 

बजारभित्र फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्ड छ । पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युवेल, जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । सीसी क्यामेराको निगरानीमा रहने बजारमा आगलागी नियन्त्रण गर्न भूमिगत रुपमा पानीको व्यवस्थापन भएको छ । 

बजारको क्षमता वार्षिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र फलफूल दश हजार मेट्रिक टन फलफूल बिक्री हुने अपेक्षा गरिएको सचिव जिसीलले जानकारी दिएका छन् । 

उद्घाटन कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, प्रदेश सभामुख प्रदिपकुमर भण्डारी, प्रदेशका मन्त्रीहरु, प्रतिनिधि सभाका सांसद अमनलाल मोदी, प्रदेशसभा सदस्यहरु, नेपाल सरकारका प्रशासकहरु लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको नेकपा प्रदेश नं. १ का सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *