१४ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, ११ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी गरी १४ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भोजपुरको षडानन्द नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १० जनामाथि विद्युत् विस्तार परियोजनाको २८ लाख ९५ हजार हिनामिना गरेको अभियोगपत्रमा दाबी गरिएको छ । 

मुद्दा दायर गरिएकामा तत्कालीन प्रशासकीय अधिकृत जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर बिमलमान राई, सब–इन्जिनियर महेश कार्की, शिक्षा अधिकृत मणिराम तामाङ, वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किराँत, उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठ छन् । अख्तियारले अभियोगपत्रमा २८ लाख ९५ हजार रुपैयाँलाई बिगो मानी जरिवाना र जेल सजाय मागदाबी गरेको छ । 

 

null

त्यसैगरी आयोगले जाजरकोटको साबिक सीमा गाविस सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सामुदायिक भवन निर्माण क्रममा गाविस सचिव दीपकबहादुर सिंहसहितले २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । मुद्दा दायर गरिएकामा सिंहका अतिरिक्त सबइन्जिनियर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दिल्लीदेवी बाँठो छन् । 

अख्तियारको अभियोगपत्रमा उक्त भवन निर्माण सम्झौता एवं लागत अनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा मापदण्डविपरीत गरिएकालाई सही भनी प्रमाणित गरेर झूटो बिलभर्पाई बनाई भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरूमाथि २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ बिगो कायम गरी जरिवाना र जेलसजाय गर्न अख्तियारले मागदाबी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =