प्रतिबन्धको बहानामा ओलीले मुलुकमा संकटकाल घोषणा गर्न खोज्दैछन्ः नेता शाह
चैत २, काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले विभिन्न बहाना बनाएर मूलुकमा संकटकाल घोषणा गर्न खोजेको जिकिर गरेका छन् ।
शनिबार संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक गर्दै नेता शाहले नेपाली राजनीतिको क्षितिजमा कालो बादल मडारीएको भन्दै विकास र समृद्धिको नारा दिएर लक्ष्य प्राप्तिमा असफल भएपछि नेपाल कम्युनिस्ट पार्टीको सरकारले विप्लव माओवादीले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हत्या गर्ने योजना बनाएको छ भन्ने हल्ला फैलाउँदै विप्लवमाथी प्रतिबन्ध लगाएको दावी गरे ।
null
‘ओली सरकार विप्लवलाई जबरजस्ती युद्धमा धकेल्ने अनि मुलुकमा सेना परिचालन गर्दै संकटकाल घोषणा गरेर सम्पूर्ण प्रतिपक्षीहरूलाई दमन गर्दै अधिनायकबाद लाद्ने षड्यन्त्रमा लागेको छ’, उनले भने ।
शनिबार सत्ताबाहिर रहेका नेपाली कांग्रेस लगायत एघार दलका विद्यार्थी संगठनहरुले पनि विप्लवलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन् ।
आज अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी विप्लवमाथि सरकारले लगाएको प्रतिबन्धको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक बिषयलाई राजनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् ।
सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि संयुक्त विद्यार्थी युनियनको आजको बैठकले सुझाव दिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका सचीव अनुराग शाहले जानकारी दिए।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाचौँ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजबादी विद्यार्थी फोरम नेपाल, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रवादी विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघका नेताहरू क्रमश ऋषिकेश जंग शाह, आलोक रायमाझी, घनश्याम मिश्र, श्यामबाबु गौतम, चिरञ्जीवी ढकाल, बिवेक राई, हरिकृष्ण गजुरेल, प्रबिन मिश्र, दुजाङ शेर्पा, तारा प्रसाद अर्याल र चिरञ्जीवी यादवको हस्ताक्षर छ ।