पूर्वउपप्रधानमन्त्री अधिकारीलाई विहान ९ बजेदेखि श्रद्धान्जली दिइने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज आइतबार विहान भरतमोहन अधिकारीलाई श्रद्धान्जली दिने कार्यक्रम तय गरेको छ । आइतबार विहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धान्जली दिने कार्यक्रम तय गरेको नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यसलगत्तै अधिकारीको शव यात्रा गरिने र मध्यान्ह पशुपति आर्यघाटमा दाहसंस्कार हुने नेकपाले जनाएको छ ।
नेकपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको हिजो बेलुका निधन भएको थियो । नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शनिबार राती ९ः३५ मा काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८३ वर्षीय अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । निमोनिया, श्वासप्रश्वास, मुटुलगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा उपचाररत थिए ।
null
वि स १९९३ वैशाख २२ गते महोत्तरीमा जन्मिएका अधिकारीले सामाजिक, राजीतिक जीवन मोरङमा बिताएका थिए । उनले भारतीय कम्युनिस्ट पार्टीको सदस्यको हैसियतले १६ वर्षको उमेरमा राजनीतिक यात्रा सुरु गरेका थिए । उनी नेपाली वामप्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्तामध्येका एक नेता हुन् ।
पाँचौ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य बनेका अधिकारी छैटौं, सातौं र आठौं महाधिवेशनसम्म स्थायी कमिटीको जिम्मेवारीमा रहेका थिए । नेकपाका नेता अधिकारी कुशल अर्थमन्त्रीका रुपमा परिचित थिए । पहिलो कम्युनिस्ट सरकार मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका उनले त्यसबेला वृद्धभत्ता, आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम र स्थानीय निकायमा विकास बजेट विनियोजन गरेर वाहवाही बटुलेका थिए ।
उनकै पालामा विकासका विभिन्न नँया मोडेल समेत लागू गरिएको थियो । उनले धेरै सुधारका कार्यक्रम समेत ल्याएका थिए । अधिकारीले संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताका पाँच नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह र सिद्धिलाल अमात्यपछि भरतमोहन थिए । उनी मनमोहनका सहोदर भाइसमेत हुन् । अधिकारीका दुई छोरी छन् ।
