कैलालीमा तस्करलाई उन्मुक्ति, पैसाको बार्गेनिङ गर्दै वन कर्मचारी

 

फागुन २५, कैलाली । गत आइतवार कैलालीको बर्दगोरिया गाउँपालिका ३ खैरेनीमा तस्करीको अवैध काठ चिरान भइरहेको सूचना स्थानीय साइनिङ स्टार क्लबले पायो । खबर पाएलगत्तै क्लबका एक प्रतिनिधिले इलाका वन कार्यालय रामपुरलाई जानकारी दिए । बिहान ८ बजे सूचना पाएका वन कार्यालयका कर्मचारी ११ बजे स्थलमा पुगे । 

घटना स्थलबाट ४ थान काँचो सालको गोलिया बरामद गरे । वनले नियन्त्रणमा लिएको उक्त गोलिया २५.०९ क्युफिट रहेको जनाएको छ । वन कर्मचारी स्थलमा पुग्नेबेलासम्म चिरानमा संलग्न ब्यक्ति फरार भइसकेका थिए । 

null

तस्करीको काठ चिरानमा संलग्नको पहिचान पनि उनीहरुले नै गरे । उक्त घटनामा संलग्न सोही ठाउँका अन्दाजी २७ वर्षीय मोहन भट्टराई रहेको र नीज फरार रहेको मुचुल्का स्थलगत रूपमा वन कर्मचारीले उठाए । एक स्थानीयका अनुसार काठ चिरानमा संलग्नलाई वन कर्मचारीले नै भगाए । 

 

उनीहरु तस्करलाई पूर्व सूचना दिएर स्थलमा पुगेको स्थानीयको दावी छ । सोही साँझ इलाका वन कार्यालयका कर्मचारी र काठ चिरानमा संलग्न ब्यक्ति बौनिया स्थित एक होटेलमा भेटे । स्रोतका अनुसार उक्त भेटमा वन कर्मचारीले तस्करीको काठ चिरानमा संलग्नसँग पैसाको बार्गेनिङ गरे । पैसा दिन तस्करीमा संलग्न पनि तयार भए । तर कति पैसा भन्नेमा कुरा मिल्न नसकेको स्रोतको दावी छ । 

वन कर्मचारीले एक लाख बढी रकम माग गरेको तर तस्करीमा संलग्नले बार्गेनिङ गरिरहेको स्रोतको दावी छ । इलाका वन कार्यालय रामपुरका जमदार प्रकाश जोशीले तस्करसँग पैसाको बार्गेनिङ गरिरहेको स्रोेतले बतायो । 

उनलाई इलाका वनका प्रमुख दिलिप यादवको समेत साथ रहेको स्रोतको दावी छ । जमदार जोशी र प्रमुख यादवले यस अघि पनि काठ तस्करीमा पक्राउ परेकालाई पैसाको बार्गेनिङ गरेर छोडेको आरोप स्थानीयको छ ।  

वन कर्मचारीलाई उदृत गर्दै स्रोतले भन्यो, ‘उनीहरुले एक लाख बढी माग गरिरहेका छन् ।’ इलाका मात्रै होइन, हाकिम र माथिल्लो कार्यालयमा समेत कमिसन जाने भएकोले ठूलो रकम माग गरिएको हुनसक्ने उनीहरुको दावी छ । उनीहरुले दैनिक टेलिफोन र साँझ भेटेर बार्गेनिङ गर्ने गरेका छन् । 

 

‘कम पैसामा वन कर्मचारीलाई मनाउन स्थानीय जनप्रतिनिधिले समेत वन कार्यालय धाउन थालेका छन् ।’ स्रोत भन्दछ । तस्करीको घटना भएको ५ दिनबितिसक्दा समेत संलग्नलाई कार्वाहीको दायरामा नल्याएर पैसाको चलखेलमा घटना सामसुम पार्न वन कार्यालयका कर्मचारी उद्दत रहेको स्रोतको भनाई छ ।  

वन तस्करीमा संलग्नलाई वन कार्यालयका कर्मचारीबाट नै संरक्षणको प्रयास हुँदै गएपछि कर्मचारीप्रति जनबिश्वास घट्दै गएको छ । 

जिल्लाको बर्दगोरिया गाउँपालिकामा गएको बैशाख यता सार्वजनिक भएका कैयौं पटकका घटनामा तस्करलाई उम्काउने प्रयास हुन थालेको भन्दै स्थानीय स्तरमा आलोचना बढ्दै गएको छ ।वन कर्मचारी सँगसँगै सामुदायिक वन संरक्षणको अधिकार र जिम्मेवारी पाएका वन उपभोक्ता समूहका पदाधिकारी र जनप्रतिनिधिको आडमा तस्करी मौलाउदै गएको आरोप छ । 

वन कर्मचारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीबाट नै ‘सानालाई ऐन र ठुलालाई चैन’ को ब्यवहार र प्रवृत्ति हुँदै आएको स्थानीयको आरोप छ । साँझ बिहानको छाक टार्न पिठ्युँ र टाउकोमा दाउराको भारी बोक्ने मानिसको दाउरा वन समितिले झार्ने गरेको तर, तस्करीमा संलग्नलाई कार्वाही नगरी पक्षपोषण गर्दै आएको स्थानीय बन उपभोक्ता बताउँछन् । 

इलाका वन कार्यालयका जमदार प्रकाश जोशीले भने बार्गेनिङ गरिरहेको भन्ने आरोप निराधार भएको दावी गरे । इलाका प्रमुख दिलिप यादव १९ गते देखि बिदामा रहेकोले ढिलाई भएको जोशीले जिकिर गरे । उनले भने, ‘पक्राउ नगर्ने भन्ने कुरै हुँदैन । हाकिम बिदामा हुनुहुन्छ । पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी जारी गर्नुपर्छ हाकिम साहब आएपछि त्यो प्रक्रिया सुरु हुन्छ ।’ 

तर जमदार प्रकाश जोशीको भनाईसँग बाझिने गरी डिभिजन वन कार्यालय पहलवारपुरका प्रमुख दिपक ज्ञवालीले पक्राउ पुर्जी जारी भइसकेको बताए । उनले भने, ‘उक्त प्रकरणको अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ । पक्राउ पूर्जी जारी भइसकेको छ । त्यहाँको इलाका प्रमुख दिलिप यादव बिदामा हुनुहुन्छ । हाजिरी हुनेबित्तिकै अनुसन्धान र तस्करीको काठ चिरानमा संलग्नलाई पक्राउ नगरे हामी एक्सन लिन्छौं ।’ 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *