पाँचौं महिला साफमा पाकिस्तानले सहभागिता नजाउने भएपछि..


काठमाडौं । फागुनको अन्तिममा हुने पाँचौं महिला साफ च्याम्पियनसिपमा पाकिस्तानले सहभागिता नजाउने पक्का भएपछि अखिल नेपाल फुटबल संघले आइतबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । टिम दर्ता गर्नुपर्ने अन्तिम मिति शनिबारसम्म पाकिस्तानले टिम दर्ता नगरेपछि एन्फाले आइतबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो ।
यससँगै पाँचौं संस्करणको महिला साफमा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसपटक पाकिस्तान समूह ‘ए’ मा आयोजक नेपाल, भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका तय थियो । नयाँ तालिकाअनुसार नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले २ चैतमा बंगलादेशको सामना गर्नेछ ।
यसअघि सन् २०१६ मा पनि पाकिस्तानले अन्तिम समयमा आएर हात झिकेको थियो । सन् २०१४ मा पाकिस्तानले आफैं आयोजना गरेयता टोलीले प्रतियोगितामा सहभागिता जनाएको छैन । विराटनगरको शहीद रंगशालामामा फागुन २८ बाट सुरु हुने प्रतियोगिता ९ चैतसम्म सञ्चालन हुनेछ ।
null
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल ९ चैतमा हुनेछ । प्रतियोगिताका लागि नेपाली टोली इटहरीमा बन्द प्रशिक्षणमा व्यस्त रहेको छ ।
त्यसअघि नेपालले प्रतियोगितालाई लक्षित गर्दै एक साताअघि भारतमा चार राष्ट्र सम्मिलित हिरो महिला कपमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले दोस्रो स्थान हात पारेको थियो ।
