धुलाम्मे सडकले १० वर्षपछि निकास पाउँदै
माघ २५, भरतपुर । स्थानिय विष्णु ढकालले शारदानगर–चनौली सडक खण्डमा बुङ्बुङती उडेको धूलो खाँदै हिँडेको १० वर्ष भयो । पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने सडकले १० वर्षपछि निकास पाउँने भएपछि उनै ढकाल यतिबेला खुसीले गद्गद भएका छन् ।
‘०६४ सालदेखि नै धूलो खाँदै आइएको थियो, घर नै धुलाम्मे हुन्थ्यो, बारीका हरिया तरकारी सेता हुन्थे, अब छिटै ती दिन सकिने लक्षण देखिएको छ’, स्थानिय ढकालले भने, ‘कालोपत्रे सडक निर्माणका लागि काम सुरू भएको देख्न पाइएको छ ।’साह्रै सास्ती दिएको सडकको निर्माणका लागि स्थानियले भरतपुर महानगर प्रमुख रेनु दाहालदेखि प्रदेश सांसद् कृष्णप्रसाद भूर्तेल तथा पूर्वप्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म चर्को दबाब दिएका थिए । अन्ततः सडक निर्माण प्रक्रिया धमाधम अघि बढेको छ । महानगर प्रमुख दाहालले छिटोभन्दा छिटो सडक निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
null
सो सडकमा अहिले हुन लागेको कालोपत्रे पहिलो भने होइन । सोही सडकमा यसअघि भएको कालोपत्रे भत्केर धुजाधुजा हुँदा पनि १० वर्षसम्म सडक निर्माण कार्य हुन नसक्दा यात्रुहरुले थप सास्ती भोग्नु परेको थियो । शारदानगरको धर्मोदय चोकदेखि चनौली बजारसम्मको सडकको काम तीव्ररुपमा भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । चार किलोमिटरको सडक कालोपत्रे हुन लागेको सडक डिभिजन कार्यालय भरतपुरकी इन्जिनियर गीताञ्जली कोइरालाले बताइन् ।पाँच करोड ७७ लाखमा मृत सञ्जीवनी विराज एण्ड ब्रदर्शले सडक कालोपत्रे गर्न लागेको हो । ठेकेदार पक्षसँग २०७६ असार ३० गतेसम्म निर्माण सक्ने गरी सम्झौता भएको इन्जिनियर कोइरालाले जानकारी गराइन् । नेपाल सरकारको सडक विभागअन्तर्गत कालोपत्रे गर्ने काम भएको उनी बताउँछिन् । उनले भनिन्, ‘सो सडकमा कुनै समस्या छैन, उक्त सडक निर्माणमा अर्थले बजेट स्वीकृत गरिसकेको छ, यहाँसम्म आउनमात्र बाँकी छ ।’
ब्रदर्शका सञ्चालक राजु सडौलाले छिटोमा फागुन अन्तसम्म र ढिलोमा चैत दोस्रो वा तेस्रो सातासम्म कालोपत्रेको काम सक्ने बताए । उनले भने, ‘नाला बनाउने काम सकियो, ग्राभेलिङको काम भइरहेको छ ।’ उनले चनौली बजारको केही पोल सार्ने काम बाँकी रहेको बताए । उनका अनुसार अहिले बन्न लागेको पिचले मेघौली जानेसम्मको नयाँ पिचलाई जोड्नेछ ।सडक डिभिजन कार्यालयका अनुसार उक्त सडकको चौडाइ ७ मिटर र पिचको मोटाइ ५० एमएमको रहनेछ ।