विराटनगर बस टर्मिनल आजदेखी सञ्चालनमा

 

माघ १६, विराटनगर । नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । 

विराटनगर– ११ मा स्थित पुरानो बसपार्कलाई भत्काएर निर्माण गरिएको सो बस टर्मिनलको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज एक समारोहका बिच उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले संकल्प गर्ने हो भने विकास निर्माणका तोकिएको काम समयमै पुरा हुने उदाहरण विराटनगर महानगरपालिकाले प्रस्तुत गरेको भन्दै निर्माण कार्यको प्रशंसा गर । 

null

उनले तोकिएकै समयमा विराटनगर बस टर्मिनल निर्माण सकेर महानगरले नमुना कार्य गरेको दावी गरे । 

मुख्यमन्त्री राईले कुनैपनि विकास निर्माणका काम गुणस्तरमा आधारित हुनुपर्ने बताउँदै पूर्वाधारहरुको सहि सदुपयोग गरिनुपर्ने बताए । संरचनाहरु निर्माण पश्चात त्यसलाई टिकाईरहन चुनौति रहेको भन्दै टिकाउका लागि सबै पक्षले ध्यान दिनुपर्नेमा उनको जोड थियो । 

 

कार्यक्रममा नगर विकास कोषका अध्यक्ष धु्रब रिजालले नव निर्मित बस टर्मिलन व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निजि क्षेत्रलाई ठेक्का दिनुपर्ने सुझाव दिए । उनले सो बस टर्मिलनमा शयन कक्ष लगायतका केही कक्ष थपिनुपर्ने बताउँदै त्यसका लागि नगर विकास कोष सहयोगका लागि तयार रहेको बताए । 

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले अत्याधुनिक सुविधा सम्पन्न अढाइ तले भवन सहित पुर्व क्षेत्रकै नमुनाको रुपमा ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको सो बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न मिल्ने बताए । 

 

उनले पुरानो बसपार्क जस्तो धेरै समय सम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तव्य तर्फ लगि हाल्नुपर्ने गरि आधुनिक बस टर्मिनल निर्माण गरिएको जानकारी दिए । 

‘नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले बस टर्मिनल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएकोमा तोकिएकै समयमा सो कम्पनीले काम पुरा गरेको छ,’ उनले भने । 

कार्यक्रममा १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरे, १ नं. प्रदेश विपक्षि दलका प्रमुख सचेतक केदार कार्की, संघिय समावादी फोरम नेपलका संसदीय दलका नेता जयराम यादव, प्रदेशसभा सदस्य विन्दिया कार्की, जिल्ला समन्वय समिति मोरङका सभापति नरेस पोखरेल लगायतले व्यवस्थित बस टर्मिनल सञ्चालनका लागि शुभकामना व्यक्त गरेका थिए । 

 

आजबाट सञ्चालनमा ल्याईएको बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, सार्वजनिक शौचालय हुनेछन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने जनाईएको छ । 

साउन महिनाको पहिलो साता नै निर्माण सम्पन्न गरेर निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाले महानगरपालिकालाई जिम्मा लगाएपनि महानगरको ढिला सुस्ति र छ लेन सडकले निर्माण गर्ने ढलका कारण बस टर्मिनल सञ्चालनमा आउन सकेको थिएन । 

बस टर्मिनल सञ्चालनसँगै वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले राहत पाउने आशा गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =