सरकार अब चिन्ते यूगको सुरुवात गरियोस

 

नेपाली जनता चिन्ता नबोकी राम्ररी सुत्न समेत नसक्ने भए । विहान उठेदेखि बेलुकी ओछ्यानमा नघुस्रेसम्म चिन्ताको खाडलमा कोहि छैन भने, त्यो नेपाली नै हैन । सुख हुनेलाई सुखको चिन्ता नहुनेलाई दुखःको ।  

कांग्रेसलाई सत्ता बाहिर हुनुपर्दाको चिन्ता, नेकपालाई दुई अध्यक्ष हुँदाको पिडा । निर्मला पन्त बलात्कार हत्याकाण्डका असली अपराधी पत्ता नलागेर नेपाल प्रहरीलाई रनाहा । वाइडवडीकाण्डले सरकारका मन्त्री प्रतिपक्षी पार्टीका सभापति देखि पूर्वमन्त्री, कर्मचारीको बेचैनी । नेपालिक्स (ट्याक्स हेवन) काण्डले ब्यापारीहरुको निदहराम । पूर्वराजा ज्ञानेन्द्र र राजावादीहरुलाई आफ्नै पिरलो । 

null

सर्वोच्च अदालतमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेरले गरेका निर्णयले घुस्याहा न्यायाधिशलाई सास्ती । कसैलाई रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिजको पिरलो । कसैलाई काठमाडौंको धुलो धुँवा पिरलो त, कसैलाई एक छाक टार्ने पिरालो । मुकुन्द्याल्याण्डका मुकुन्देलाई पार्वती नभेटिँदाको चिन्ता । डा. केसीलाई नेपाली मेडिकल कलेजको चिन्ता । 

पुस–माघको जाडोमा सडकदेखि सदनसम्म फेसवुकदेखि ट्विटर अनी युट्युवसम्म सबैलाई केहि न केहिको चिन्ता छ । सायद, लोकतन्त्रको यो भन्दा सुन्दर उपहार हामीहरुका लागि अरु केहि नहोला ! 

लोकतन्त्र, गणतन्त्रले साँढे तीन करोड नेपालीलाई दिएको सबैभन्दा ठूलो चिज नै यो चिन्ता हो । अब यसलाई स्थापित गर्न सरकारलाई अर्को चिन्ता थपिएको छ । ‘संबृद्ध नेपाल सुखी नेपाली’ भनेर ल्याएको नारा काम लागेन । त्यसलाई बदल्ने बुद्धिजिवीलाई शब्दको चिन्ता ।  

चिन्तै चिन्ताको यो देशमा अब चिन्ता ब्यवस्थापनका लागि सरकारले नै ठोस कदम चालेर चिन्ता मन्त्रालय, चिन्ता ब्यवस्थापन विभाग गठन गर्नुपर्ने भएको छ । त्यसका लागि एउटा उच्चस्तरीय चिन्ता ब्यवस्थापन कार्यदल गठन गरौं, त्यसले चिन्ताका प्रकारलाई सुक्ष्म अध्ययन गरोस, १, २, ३ भनेर चिन्ता वर्गिकरण गरियोस । साना चिन्ता गर्नेलाई साना सुविधा ठूला चिन्ता भएकालाई ठूलै सुविधा दिइयोस ।  

चिन्ता नलिनेलाई उपचार गर्न चिन्ता अस्पताल आवश्यक छ । चिन्ता अस्पताल निर्माण गरियोस्, चिन्ता विकासका लागि आवश्यक पाठ्यक्रम तयार गरेर पठनपाठनको ब्यवस्था गरियोस् । प्रत्येक प्रदेशमा एकएक चिन्ताकरण केन्द्र निर्माण गरियोस् । 

चिन्ता कार्यान्वयनका लागि कानुन बनाउन पर्दछ । त्यसका लागि चिन्ता कसरी गर्ने भन्ने विषयमा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त डा. चिन्तामणी नयाँघरेलाई विदेशबाट बोलाइयोस । चिन्ताकरण कानुनलाई मौलिक अधिकारमा राखियोस् । चिन्ता नलिने नेपालीलाई कठोर दण्डको ब्यवस्था गरियोस ।  

विदेशमा सुख सयलमा बसेका नेपालीलाई तत्काल स्वदेश फर्काएर उनीहरुलाई चिन्ताको भारी बोकाइयोस । नेपालमा खाएर सिंगापुरमा आची गर्ने शौखिनदारलाई सूलिमा चढाइयोस । सिंहदरबार, बालुवाटार अघिल्तिरका चिल्ला सडक भत्काइयोस । सप्तकोशी, त्रिसुली, कालिगण्डकी, महाकाली जस्ता ठूला नदीहरुमा तुइन पुर्नस्थापित गरियोस् । 

जलविद्युत आयोजना बन्द गरियोस्, प्रटोल, ग्याँस आपुर्ति बन्द गरेर मट्टीतेल झिकाइयोस । सलेदो, टुकी, लाल्टीनहरु प्रयोगमा ल्याइयोस । इन्टरनेट टिभी, मोवाइल प्रयोगमा प्रतिबन्ध लगाइयोस । सवारीसाधन चढ्न बन्देज लगाइयोस । पूर्वपश्चिम राजमार्ग भत्काइयोस । पसिनाका धारा चुहाएर पैदल हिँड्ने, कोदो, मकै फलाएर एक छाक खानेलाई पुरस्कृत गरियोस । पिज्जा वर्गर, मार्सी चामल खानेलाई जरिवाना गरियोस । टाइसुट लगाएर हिँड्नेलाई धोक्रोको लूगा लगाउन अनिवार्य गरियोस् ।  

ठूल्ठूला महल भत्काएर खरको छाना भएका छाउगोठ जस्ता साना घर बनाइयोस् । गुफा ओढारमा बस्नेलाई पुरस्कृत र सम्मानीत गरियोस ।  

सरकार, ‘संबृद्ध नेपाल सुखी नेपाली’ नारा चरितार्थ गर्न अब चिन्ते यूगको सुरुवात गरियोस । अस्तू  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *