रक्षामन्त्रीलाई जिम्मेवारी सुम्पिएर प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

 

माघ ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । 

स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकाले संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

null

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे। 

 

सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । 

यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन्। सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालका प्रधानमन्त्रीले पहिलो पटक भाग लिन लागेका हुन् । 

भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी सहभागी छन् । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *