सिरियाबाट अमेरिकी सैनिक फर्काउने निर्णयको विरोधमा रक्षा मन्त्री म्याटिसले दिए राजीनामा

अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले राष्ट्रपति ड्रोनाल्ड ट्रम्पका सुरक्षा नीतिहरूको विरोध गर्दै राजीनामा दिएका छन्। 

पूर्व सैनिक जनरल म्याटिसले राष्ट्रपति ट्रम्पको सिरियाबाट अमेरिकी सैनिक फर्काउने निर्णयको विरोधमा राजीनामा दिएका हुन्। 

राष्ट्रपति ट्रम्पले बुधबार सिरियाबाट सबै अमेरिकी सैनिक फर्काउने घोषणा गरेका थिए। त्यो घोषणामा रक्षामन्त्री म्याटिससँगै अरू धेरै ट्रम्पका सल्लाहाकारको असहमति थियो। 

null

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए। 

रक्षा मन्त्री म्याटिस राष्ट्रपति ट्रम्पलाई सो घोषणा फिर्ता लिन मनाउनका लागि बिहिबार ह्वाइट हाउस गएका थिए। ट्रम्पले सो घोषणा फिर्ता नलिने अडान राखेपछि उनले राजीनामा दिएका हुन्। 

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय मोर्चामा आफ्ना मित्रशक्तिहरूलाई सँगै लैजान नसकेको, आफ्ना रणनीतिक प्रतिश्पर्धीहरूलाई चिन्न नसकेको तथा अमेरिकाविरूद्ध काम गरिरहेका शक्तिहरूबारे स्पष्ट दृष्टिकोण राख्न नसकेको आरोप म्याटिसले लगाएका छन्। 

बिहिबार राष्ट्रपति ट्रम्पलाई दिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘तपाईँका धारणासँग विचार मिल्ने रक्षा मन्त्री राख्ने तपाईँको अधिकार भएकाले मैले मेरो पदबाट राजीनामा दिनु उचित हुने ठानेको छु।’ 

आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले रसियाप्रति राष्ट्रपति ट्रम्पका सहानुभूतिसीलको पनि सांकेतिक विरोध गरेका छन्। ‘हाम्रो रणनीतिक स्वार्थसँग जुन मुलुकका गतिविधिहरू मिल्दैनन्। तिनीहरूविरूद्ध हामी कुनै द्विविधा बिना बलियोसँग उभिनुपर्छ,’ उनले भनेका छन्, ‘यो प्रष्टै छ चीन र रसिया संसारलाई आफ्ना तानाशाही मोडल अनुसार ढाल्न चाहन्छन्।’ 

अमेरिकी राष्ट्रपतिका नीतिहरूसँग असहमति जनाएर मन्त्रिमण्डलबाट राजीनामा दिने पछिल्लो चालिस वर्षमा म्याटिस दोस्रो व्यक्ति भएका छन्।सन् १९८० मा इरानबाट अमेरिकी बन्दीहरू छुटाउने विषयमा असहमति राख्दै राष्ट्रपति जिमी  कार्टरका विदेश मन्त्री साइरस भान्सले राजीनामा गरेका थिए।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *