कर्मचारीको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीश राणामाथिको सुनुवाई अवरुद्ध

पुस १५, काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाइ मंगलबार सम्मका लागि स्थगित भएको छ ।
जबराको आज सुनुवाई भएपनि संसदीय सुनुवाईका क्रममा राणासँग सांसदहरुको प्रश्न सोध्ने क्रम नसकिएकाले मंगलबारसम्मका लागि बैठक लम्बिएको हो ।
null
आजै समय बाँकी रहेपनि संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण ४ बजे कर्मचारीहरु उठेर हिँडेपछि सुनुवाई नसकिएको हो । अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउनु पर्ने माग राख्दै संसदका कर्मचारीहरू आन्दोलनमा छन् । उनीहरुले १० देखि ४ बजेसम्म मात्र काम गर्ने अडान लिएका कारण बैठक प्रभावित बनेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले सोमबार पुनः सुनुवाइ राख्ने प्रस्ताव गरे पनि सोमबार नेपाली कांग्रेसको मेलमिलाप दिवस परेकाले प्रतिपक्षले अस्वीकार गरेपछि मंगलबारका लागि बैठक सारिएको हो ।
आइतबारको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसाल, पुर्णकुमारी सुवेदीले प्रश्न सोधेका थिए ।
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेका छन्। उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन्।
गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। समितिले नाम अनुमोदन गरेमा राणा नेपालको २८ औँ प्रधानन्यायाधीश बन्नेछन्।








