नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार प्रदान

पुस १५, काठमाडौँ । हिजो शनिबार नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गायिका दावा ग्याल्मो र युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । 

 

बेलायतले नेपाली गीत–संगीतका क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ र निबन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनिय योगदान दिएका गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको हो । 

null

शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त सम्मान तथा पुरस्कार प्रदान गरे । काइँलाले दोसल्ला, ताम्रपत्र र बिस हजार राशि सहितको ‘प्रतिभा सम्मान’ ग्याल्मोलाई र ताम्रपत्र र एक लाख रुपैयाँ नगद राशि सहितको ‘प्रतिभा पुरस्कार’ अधिकारीलाई प्रदान गरेका थिए । 

सम्मान तथा पुरस्कार प्रदान गरेपछि आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी काइँलाले नेपाली भाषा, साहित्य, कला तथा संगीतका क्षेत्रमा दार्जिलिङको अतुलनिय योगदान रहेको बताए । उनले ग्याल्मो जस्ती प्रभावशाली गायिका र युवा निबन्धकार तथा अनुवादक अधिकारीलाई बेलायतमा रहेको नेपाली वाङ्मयिक संस्थाले सही मूल्याङ्कन गरी सम्मान गरेकोमा खुसी प्रकट गरे ।समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र कवि श्रवण मुकारुङले बेलायतमा रहेको प्रतिभा प्रतिष्ठानले भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा योगदान दिएका स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्दै सत्कार्य गरेको उल्लेख गरे । 

कार्यक्रममा संगीतकार आभाष र संस्कृतिविद् डा. भक्त राईले सम्मानित तथा पुरस्कृत प्रतिभाका बारेमा बोलेका थिए । प्रतिष्ठानकी अध्यक्ष दीपा राई लिम्बू, वरिष्ठ उपाध्यक्ष गणेश राई, कोषाध्यक्ष देवेन्द्र खेरेस र मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूले संस्थाले गरि आएका गतिविधि तथा सम्मान र पुरस्कार सम्बन्धी प्रकाश पारेका थिए । 

समारोहमा सम्मानित तथा पुरस्कृत प्रतिभा ग्याल्मो र अधिकारीले सम्मानित तथा पुरस्कृत भएकोमा कृतज्ञता प्रकट गर्दै आ–आफ्ना अनुभूति व्यक्त गरेका थिए । एघार वर्षअघि देखि आरम्भ भएको सम्मान तथा पुरस्कारद्वारा अहिलेसम्म २२ जना सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *