चितवनको विकासमा चिन्ता र चासो बढी छ : प्रचण्ड

मंसिर ६, भरतपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध सुरु हुने बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नं २४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले राप्ती र नारायणी नदीको तटबन्धसहितको रिंगरोडको डीपीआर यसै वर्षबाट सुरू हुने बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘म आफू चितवनको जनप्रतिनिधि हुनुका नाताले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।’ अध्यक्ष प्रचण्डले विगत १२/१५ महिनामै भरतपुर महानगर र सिंगो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताए । ‘कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कुनै शक्तिले गर्न सक्दैन, समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ’, उनले भने ।
null
भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान र सिटी हल छिटै बन्ने उनले बताए । उनले भने, ‘माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।’
उनले अव्यवस्थित बसोबास र सुकुमबासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताए । कार्यक्रममा उनले भने, ‘सुकुमबासी समाधान गर्नको लागि नीतिगत छलफल भइरहेको छ, यसको समाधान छिटै हुन्छ ।’
कार्यक्रममा विशिष्ट अतिथि रहेकी भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर २४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल भएका सम्पूर्ण वडावासीलाई धन्यवाद दिँदै अन्य वडाहरुलाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै लैजाने बताइन् ।
भरतपुर महानगरलाई नमुना वडा बनाउन लागि परेको भन्दै महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘भरतपुर महानगरपालिका महत्वकांक्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनाहरुलाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ ।’ उनले भरतपुर महानगरलाई नमुना महानगर बनाउने दाबी गरेकी छिन् । ‘सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरु तीव्र गतिमा अगाडि बढिरहेका छन्’, उनले भनिन् ।
भरतपुर २४ का वडाध्यक्ष कान्छा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडावासीले वातावरणमैत्री वडालाई कायम राखिरहने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा प्रदेश सभाका संसदहरू राजनीतिक दलका प्रतिनिधिहरू तथा वडाअध्यक्षहरूको सहभागिता रहेको थियो ।








