भगवान शिवकाे कण्ठ (घाँटी) कसरी नीलो भयो ?

त्रिमूर्ति देवता मध्यमा संसारको संहारकर्ता महादेवको घाँटीको कण्ठ नीलो भएको सबैलाई थाहा भएकै कुरा हो । हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा थुप्रै कथाप्रसङ्गहरू उल्लेख गरिएका छन् ।

कथाप्रसङ्गहरू जति भए पनि त्यसले भन्न खोजेको कुराको सार तत्त्व एउटै हुन जान्छ । आजको धर्मको अङ्कमा हामी तपाईँहरूलाई भगवान् शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ ।

‘श्री’ को प्रसादलाई इन्द्रले अपहेलना गरेको आरोपमा साधु दुर्वसाले धर्म, शक्ति र भाग्यको नाश होस् भनेर इन्द्रदेव र अरू देवहरूलाई श्राप दिएका थिए । त्यसपश्चात, देव र दानवको ठुलो युद्ध भयो, जहाँ सबै देवहरूलाई ‘राजा बली’का दानवहरूले हराए।सारा ब्रह्माण्ड उनको कब्जामा आउँदै थियो ।


त्यसपछि, देवजातिहरू त्रीमूर्तिदेव भगवान् विष्णु भएको ठाउँमा गुहार्न गए र दानवलाई हराउनको लागि विशेष किसिमको कूटनीतिको प्रयोग गर्नुपर्ने सल्लाह दिए । भगवान् विष्णुको सल्लाहअनुसार, देव र दानवहरूको बिच सम्झौता भयो र ‘अमृत’ (अमर गराउने जल) को लागि दुवै जाति मिलेर समुन्द्र मन्थन गर्ने अनि देव र दानव दुवैलाई अमृत बाँड्ने निर्णय भयो । तथापि, विष्णुले भने देवताहरूलाई मात्र अमृत दिने गोप्य वाचा गरे ।

समुन्द्र मन्थनको लागि ‘मन्दरा पर्वत’लाई मदनीको रूपमा प्रयोग गरियो भने ‘बासुकी नाग’ (सर्पहरूको राजा) लाई पर्वत घुमाउने डोरीको रूपमा प्रयोग गरियो । मन्थनको लागि दानवहरूले बासुकी नागको शिरपट्टी बसे र विष्णुको सल्लाहअनुसार देवताहरू पुच्छर तर्फ बसे । बासुकीको मुखबाट निस्केको विषले कतिपय दानवहरूको मृत्यु भयो तैपनि देव र दानवहरू मिलेर बासुकीको शरीरलाई अगाडि पछाडि गर्न थाले, जसले मन्दरा पर्वत घुम्न थाल्यो र पर्वतले समुन्द्रलाई मथ्न थाल्यो । तर, समुन्द्रमा पर्वत डुब्दै गरेपछि, विष्णुले कछुवा ‘कुर्मा’को रूप धारण गरी आफ्नो ढाडमा पहाडलाई अड्याए ।

समुन्द्र मन्थन गर्ने क्रममा अमृत भन्दा पहिला थुप्रै कुराहरू समुन्द्रबाट निस्कियो । त्यहाँबाट सारा ब्रह्माण्डलाई ध्वस्त गर्ने शक्ति भएको ‘हालाहाला’ विष निस्कियो, जसले गर्दा सबै देवता र दानवहरू त्रसित भए । त्यसपछि, सबै देवताहरूले भगवान् शिवको प्रार्थना गर्न लागे । ब्रह्माण्डलाई बचाउनको लागि भगवान् शिवले उक्त विषलाई बटुलेर निल्नको लागि मुखमा राखे, तर उनकी पत्नी पार्वतीले विषको वास्तविक शक्तिलाई बुझी शिवको घाँटीमा अँठ्याइन्, ताकि शिवले त्यो विष निल्न नपाउन । यसरी उक्त विष शिवको कण्ठमा नै नीलो रङ्ग लिएर बस्यो । अनि भगवान् शिव ‘नीलकण्ठ’ नामले पनि पुकारिन थालेको कथा हिन्दु धर्म ग्रन्थमा भेटिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *