अन्तत: पृथ्बी सुब्वाले मारे बाजी, प्रदेश ४ को मुख्यमन्त्री सिफारिस

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी यसको औपचारिक घोषणा भने केहीबेरमा हुँदैछ । यसअघि किरण गुरुङले पनि मुख्यमन्त्रीमा दावी गरेपछि लामो समय बैठक बसेर सहमतिमा पृथ्वीसुब्बा लाई अघि सारिएको हो ।

किरणलाई एमालेको केन्द्रीय संगठन विभाग प्रमुख दिने सहमति भएको एमाले श्रोतले बताएको छ । एमालेले संसदीय दलको नेता छान्न आजका लागि निर्वाचन मिति तोकेको थियो । सवा १२ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने समयभित्रै पृथ्वीसुब्बाले उम्मेदवारी दर्ता गराएका थिए । किरणले भने सहमतिका लागि १ घण्टा उम्मेदवारी दिने समय थप मागेका थिए । अन्तिम नाम सार्वजनिक गर्न अहिले एमाले कास्कीको जिल्ला पार्टी कार्यालयमा बैठक बसिरहेको छ ।

एमाले स्रोतका अनुसार केपी ओली निकट रहेका सचिव गुरूङको सम्भावना बलियो भएपनि किरण गुरूङले पनि अन्तिम समयसम्म आफू नै मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए । उनी बामदेव गौतमका विश्वासपात्र मानिन्छन् ।

प्रदेशसभा सदस्यहरूको सपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका थिए । गुरूङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए ।

प्रदेश ४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन् । जसमध्ये मनाङबाट एमालेको सहयोगमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ सर्वोच्च अदालतको आदेशपछि फरार छन् ।

किरणले पृथ्वीभन्दा आफू पार्टीमा सिनियर भएको भन्दै उनले लामो समयदेखि गण्डकी–धौलागिरी अञ्चलमा पार्टीको नेतृत्व गरेको र अहिले पनि ४ नम्बर प्रदेशको संयोजक भएको नाताले आफ्नो विकल्प नभएको बताउँदै आएका थिए । अर्का दाबेदार पृथ्वीसुब्बा गुरूङले पार्टी अध्यक्ष ओलीले चुनावअघि नै आफूलाई मुख्यमन्त्री बनाउने बताएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *