स्थानीय तह निर्वाचनमा बाबुछोरा एउटै पदमा उम्मेदवार

प्यूठान : लामो समय देखि राजनीति क्षेत्रमा लागेका प्यूठान नगरपालिका-९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार बनेका छन् । सहमती गरेर अघि बढ्ने प्रयास भएपनि कुरा नमिलेपछि दुवैको उम्मेदवारी घोषणा भएको हो। नगरपालिकाको ९ नम्बर वडा अध्यक्ष पदमा बाबु भरत बहादुर केसी र जेठो छोरा बाचुन केसी उम्मेदवार बनेर बनेका हुन् ।

बुवा नेपाली कांग्रेस र छोरा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ । दुवैले आफ्नो जित सुनिश्चत भएको दावी गर्नुभएको छ। ‘छोरालाई उम्मेदवार फिर्ता लिएर मलाई सहयोग गर भने तर मानेन्’, बुवा भरतले भन्नुभयो, ‘कांग्रेस छाडेर राप्रपाबाट उठ्नुस अनि मात्र सहयोग गर्छु भन्छ ।’

०५२ साल देखि नेपाली कांग्रेसको राजनीतिमा लाग्नु भएका उहाँ पार्टी परिवर्तन गर्ने सोच नभएको सुनाउनु हुन्छ । ‘बीपीको विचार र सिद्धान्त मन परेर कांग्रेसमा लागेको हुँ’, उहाँले भन्नुभयो, ‘बुढेसकालमा आएर छोराले पो पार्टी छोड्नुहोस् भन्छ ।’ पार्टीले सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाएको बताउँदै उहाँले गाउँका करिव ९० प्रतिशत मतदाताले आफूलाई भोट हाल्ने समेत दावी गर्नुभयो ।

‘श्रीमती र छोराले मलाई नै भोट हाल्छन्’, उहाँले भन्नुभयो, ‘एकै पदमा बाबु छोराको प्रतिस्पर्धा हुने भयो ।’

६४ बर्षीया केसी ०४३ सालको पञ्चायतकालमा समेत तत्कालीन मरन्ठाना गाविसको राप्रपाबाट उपप्रधानमा विजयी हुनुभएको थियो । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा राप्रपाबाटै गाविस अध्यक्ष उठ्नुभएका केसी ५० मत अन्तरले राजमोबाट पराजय हुनुभएको थियो ।

‘राजनीति जीवनमा चुनाव लड्ने यो नै अन्तिम होला’,उहाँ भन्नुहुन्छ, ‘बुढेसकालमा एक पटक छोराले मलाई साथ दिनुपर्ने हो तर दिएन।’ राजनीति यात्रामा लागेको लामो अनुभवले गर्दा आफूले बहुमतमै चुनाव जित्ने उहाँको आशा छ। गाउँका समस्यासँग नजिकबाट भिजेको बताउँदै केसीले चुनाव जितेमा खानेपानी, मोटरवाटो, विद्युत्त लगाएतका समस्याहरुलाई पूर्ण रुपमा समाधान गर्ने आश्वासन दिनुभयो। ४० वर्षीया छोरा बाचुन केसी पनि विद्यार्थी जीवनदेखि राजनीति क्षेत्रमा लाग्नुभएको हो। उहाँलाई राप्रपाले सर्वसम्मत रुपमै वडा अध्यक्षको उम्मेदवार उठाएको छ।

‘बुवा हाम्रो पार्टीबाट चुनाव लडेमा साथ दिन सकिन्छ’,उहाँले भन्नुभयो, ‘कांग्रेसमै रहे साथ दिन सकिँदैन।’ बुवासँग राजनीति प्रतिसोध नराखी चुनाव लड्न पाउँदा आफूलाई ‘भाग्यमानी’ ठानेको समेत उहाँले बताउनुभयो। ‘सायद यस्तो अवसर विरलै हुन्छ होला’, उहाँले भन्नुभयो, ‘हारजित फरक पक्ष हो। तर, स्वच्छ रुपमा चुनावमा प्रतिस्पर्धा गर्छौ।’ घरबाट श्रीमती बाहेक आमा र भाइहरुले बुवालाई साथ दिने बुझिएको उहाँको भनाइ छ। ‘गाउँका धेरैले मलाई साथ दिन्छन्’,केसीले भन्नुभयो, ‘पार्टी र गाउँलेको साथले गर्दा नै मेरो उम्मेदवारी परेको हो।’

घरदैलो अभियानलाई तिव्रता दिएर उहाँले मत मागीरहनुभएको छ। ‘सरकारले चुनावको घोषणा गर्दादेखि नै बुवालाई म उम्मेदवार बन्दै छु भनेको थिएँ’, केसीले भन्नुभयो, ‘सहयोग गर्न धेरै अनुरोध गरे तर बुवाले मान्नुभएन।’ राप्रपाबाट बुवाको राजनीति यात्रा सुरु भएको स्मरण गर्दै उहाँले ‘पुरानै घर’ फर्कन समेत आग्रह गरेको सुनाउनुभयो ।

केसीले पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर के.सी, वाणिज्य आपूर्ति मन्त्री दीपक बोहोरा र वाणिज्य मन्त्री जयन्त चन्द्रको स्वकीय सचिव भएर समेत काम गर्नुभएको छ। ‘मन्त्रालयको निकटमा रहेर धेरैवर्ष काम गरेँ’,उहाँले भन्नुभयो,‘गाउँदेखि केन्द्रसम्मको पहुँच छ । विकासको सपना चुनावको बेला बाँडदैन् । चुनाव जितेपछि गाउँलाई सम्मुनत बनाउने छुँ। हेर्दा सानो तर अर्थ ठूलो राख्ने काम गरेर देखाउने छु।’

८ कक्षादेखि राजनीति क्षेत्रमा लाग्नुभएका उहाँ हाल पार्टीको जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधी हुनुहुन्छ। प्रविणता प्रमाणपत्र तह सम्मको शिक्षा हासिल गर्नुभएका केसीले अमेरिका जाने अवसर छाडेर गाउँकै सेवामा लाग्ने उद्देश्यले उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो। बाबु छोराको उम्मेदवारीलाई गाउँका धेरैले रोचक र महत्वका साथ हेरेका छन्। ‘यस्तो प्रतिस्पर्धा पहिलोपटक देख्दै छुँ’, छिमेकी बासुदेव गिरीले भन्नुभयो, ‘राजनीतिमा घरपरिवार केही हुँदोरहेन्छ।’

आम निर्वाचनमा भन्दा स्थानीय तहमा राजनीति प्रतिसोध धेरै हुने गरेको पाइएको उहाँको अनुभव छ । ‘परिवार छाडिएला तर पार्टी छाडिदैन भन्नेहरुपनि देखियो’, गिरीले भन्नुभयो, ‘राजनीति धेरैजनामा नशाजस्तै भइसक्यो।’ साविकको मरन्ठाना गाविस हाल नगरपालिकाको ९ नम्वर वडा बनेको छ । वडामा कुल १ हजार ८ सय ५४ जना मतदाता रहेका छन्। गत संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो, राजमो दोस्रो र राप्रपा तेस्रो पार्टी बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *