अपराध लुकाउन नाम र धर्म नै परिवर्तन

काठमाडौं, कात्तिक २२ । व्यक्ति हत्याको १० वर्ष पुरानो घटनामा संलग्न भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई विजयकुमार श्रीवास्तव भएको नागरिकता पेस गरे ।

उनले आफू मुस्लिम नभई हिन्दु भएको र बिनाकारण पक्राउ गरिएको दलिल पनि पेस गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए ।

पक्राउ परेको व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अघि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो, त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गर्न सकिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो ।

बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संलग्न पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो । त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सिसौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्तालाई पक्राउ गर्‍यो । उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए ।

घटनाको चार वर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे । बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने इन्ताफ हुनेन अन्सारी पनि पक्राउ परी जेल चलान भए । प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याइ नेपाल र भारतीय बजारमा चलाउँथे ।

उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिनामात्रै प्रहरी परिसरलाई एउटा गोप्य सूचना दिएका थिए । सूचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि थिए ।’

खानले आफू विजयकुमार श्रीवास्तव भएको बताउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट निकालेको नागरिकता पेस गरे । प्रहरीले उक्त नागरिकताको वैधानिकता जाँच गरेपछि रहस्य खुल्यो, उक्त नामको नागरिकता जारी नै भएको छैन ।

मुस्लिम समुदायका खानले उक्त घटनापछि हिन्दु धर्म मान्ने भन्दै नागरिकता निकालेर हिन्दु केटी नै बिहे गरेका थिए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *