क्यान्सरग्रस्त देवेन्द्र गुरुलाई विद्यार्थीले दिए उपचार खर्च

किशोर खनाल, माडी । स्कुले जीवनमा साह्रै मनपर्ने एक पूर्व शिक्षक क्यान्सरजस्तो रोगले ग्रस्त भएको खबर सुन्दा मर्माहत भएका पूर्व विद्यार्थीले १० लाख ४२ हजार ४२६ रुपैयाँ सहयोग गरेका छन् । माडी गर्दीको सोमेश्वर माविका पूर्व शिक्षक देवेन्द्रप्रसाद पौडेल फोक्सोको क्यान्सरले पीडित छन् ।

‘कृषि विषय पढाउने देवेन्द्र सर विद्यार्थीका लागि साह्रै प्रिय हुनुहुन्थ्यो । जब उहाँलाई क्यान्सर भएर उपचार सुरु गरेको खबर पाएँ, म निकै दुःखी भएँ । मातापिता र गुरुभन्दा ठुलो अरू कोही हुन्न भन्ने जानेको मैले उहाँको उपचारमा सहयोग गर्ने योजना बनाएँ’ सहयोग जुटाउने कामको अगुवाइ गरेका सो विद्यालयका पूर्व विद्यार्थी उमाकान्त शर्माले भने ।

देश विदेशमा रहेका सोमेश्वर माविका १२० विद्यार्थीबाट सो रकम सङ्कलन गरेको उनले जानकारी दिए । रकम सङ्कलनका लागि सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाइएको थियो । शुक्रवार माडी बरुवा बजारमा आयोजित कार्यक्रममा पूर्व शिक्षक पौडेललाई सो रकम हस्तान्तरण गरिएको हो । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले उनलाई रकम हस्तान्तरण गरे ।

‘उपचारका लागि मलाई रकम आवश्यक भयो भनेर देवेन्द्र सरले अपिल गरेर रकम जुटाएको हैन । एउटा प्रिय शिक्षक बिरामी पर्दा हामी उहाँका विद्यार्थीले पनि सहायोग गर्नुपर्ने दायित्व रहन्छ भनेर सबै मिलेर रकम जुटाएका हौँ । फेसबुकमा सार्वजनिक आह्वान् गर्नुभन्दा पनि म्यासेजबाट सहयोग आग्रह ग¥यौँ’ शर्माले भने । एक पटक म्यासेज गर्दा स्वतःस्फूर्त रूपमा सहयोग गर्न राजी भएकाहरुबाट सहयोग जुटेको हो ।

सोही अभियानमा लागेका अर्का पूर्व विद्यार्थी हरेराम रेग्मीले बताए अनुसार पाँच हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म सहयोग गर्नेहरु छन् । सोमेश्वर माविका पूर्व विद्यार्थीबाहेक अरू कसैसँग सहयोग नजुटाएको पनि उनले बताए । फेसबुकमा जोडिएका चार सयजना भए पनि इच्छुकहरुले दिएको रकम नै १० लाख भन्दा बढी जुटेकोे हो ।

त्यसो त रकम सङ्कलन १० लाख रुपैयाँभन्दा धेरै भएको छ । अभियान अन्तर्गत सङ्कलन भएको अर्को दुई लाख रुपैयाँ माडीका बाढीपीडितहरुको सहयोगका लागि पूर्व शिक्षक पौडेलले नै नगरपालिकाको कोषमा हस्तान्तरण गरे । पौडेल रेडक्रस अभियानसँग पनि आबद्ध छन् । यस्तो विपत्का बेला आफ्नो रोगमात्रै नभएर स्थानीयको पीडालाई पनि ख्याल राख्नुपरेको उनले बताए ।

‘मेरो क्यान्सर निको हुने अवस्थामा छ । आशा छ, यो रोगलाई मैले जितेरै छाड्छु । म क्यान्सर मुक्त भएका दिनमा अहिले जति बराबरको सहयोग पाएँ, त्यत्ति नै अर्थात् १० लाख रुपैयाँको उपचार कोष बनाउने छु । जुन कोषबाट समस्या पर्दा पूर्व शिक्षकको उपचारमा सहयोग हुनेछ’ पूर्व शिक्षक पौडेलले भने । सहयोगले आफूलाई ठुलो आत्मबल मिलेको र रोग परास्त हुने उनले बताए ।

अभियानमा संलग्न नेत्र आचार्यले शिक्षकको प्रेरणाले विद्यार्थीले ठुलो सफलता पाएको हुँदा त्यस्तो शिक्षक रोगले ग्रस्त हुँदा सहयोग गर्नु कर्तव्य भएको बताए । त्यस्तै, पूर्व विद्यार्थी ज्ञानहरि पौडेलले मान्छेको ठुलो बैरी रोग भएका कारण त्यस्तो बैरीलाई परास्त गर्न सबै शुभचिन्तक एक हुनुपर्छ भनेर आफूहरूले अभियान चलाएको बताए ।

शिक्षक पौडेलको सहयोगका लागि माडी, भरतपुर र देशका विभिन्न भागमा भएका पूर्व विद्यार्थीमा साथै विदेशमा बस्नेहरुले पनि सहयोग गरेका थिए । अमेरिका, अस्ट्रेलिया, अष्ट्रिया, हङकङ र साउदी अरबमा रहेको सोमेश्वर माविका पूर्व विद्यार्थी पनि यो अभियानमा जोडिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *