राजपाका कार्यकर्ताद्वारा जलेश्वरस्थित फोरम नेपालको कार्यालय तोडफोड

जेष्ठ ३१ । राष्ट्रिय जनता पार्टी ( राजपा ) का कार्यकर्ताले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालय तोडफोड गरेका छन् । करिब डेढ दर्जनको संख्यामा रहेका राजपाका कार्यकर्ताहरूले बुधबार बिहान फोरम कार्यालय पुगेर झन्डा उखेलेर फ्याँक्नुका साथै बोर्डमा कालो पोतिदिएका थिए । बिहान फोरम कार्यालयमा कोही नभएको मौकाछोपी उनीहरुले झन्डा उखेल्ने र बोर्डमा मोबिल पोत्ने काम गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पार्टी कार्यालयमा आक्रमणपछि संघीय समाजवादी फोरम महोत्तरी अध्यक्ष रामनरेश यादवले कडा शब्दमा विरोध जनाएका छन् । ‘फोरम कार्यालय माथिको हर्कत लोकतन्त्रको उपहास हो, लोकतन्त्र माथिको आक्रमण पनि हो’ उनले भने, ‘प्रथम मधेस आन्दोलनमा ४२ जना सहिद भएर स्थापित भएको फोरमको झन्डा जलाउने र कार्यालय माथि आक्रमण गर्नु सहिदहरु माथिको अपमान पनि हो ।’

फोरम कार्यालय रहेको जलेश्वर खैराचोकमा सशस्त्र प्रहरी कार्यालय पनि छ । प्रहरी कार्यालय नजिक यस्तो घटना हुनुले समग्र निर्वाचन सुरक्षामा समेत प्रश्न चिह्न उठेको उनको भनार्इ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *