शर्माको भ्रष्टाचारमा पूर्व अर्थमन्त्री महत पनि तानिँदै


जेठ ३०, काठमाडौं । सरकारी पदको चरम दुरुपयोग गर्दै अर्बौ रकम हिनामिना गर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको केसमा पूर्वअर्थमन्त्री समेत तानिने देखिएको छ ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतकै कार्यकालमा आयोगको अध्यक्षमा नियुक्ति गरिएका उनी निकटका लुपध्वज महतको समेत मिलेमतो देखिएपछि डा. महतसमेत तानिने संभावना बढेको हो । शर्माको  प्रक्राउसँगै कर फछर्योट आयोगका अध्यक्ष र एक सदस्य तथा डा. महतसमेत गायव भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका विभागका महानिर्देशक शर्मासँगको प्रारम्भिक वयानका क्रममा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको र कर फछर्यौट आयोगका पदाधिकारीको संलग्नता समेत रहेको पाइएपछि आयोगका अध्यक्ष सहित सदस्य सम्पर्क विहिन भएका छन् ।
गायब हुनेमा कर फछर्यौट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाल रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार महत र ढकाललाई तीन दिनभित्र हाजिर हुन पत्र काटे पनि उनीहरु पत्र नै नबुझि एकाएक गायव भएका हुन् ।
अख्तियारले काटेको पत्र उनीहरुका परिवारका सदस्यहरुले बुझेका छन् । कर फछ्र्यौट आयोगका अध्यक्ष महत उपचारका लागि भन्दै विदेशमा रहेको उनको परिवारले आयोगलाई बताएका छन् । आयोगका सदस्य ढकाल भने नेपालमै छन् ।
स्रोतका अनुसार पूर्व अर्थमन्त्री डा. महत ब्यक्तिगत कामका लागि भन्दै शर्माको प्रक्राउसँगै विदेश गएका हुन् ।
अर्थमन्त्री डा. महतकै पालामा २०७१ माघमा सरकारले कर फछर्यौट आयोग गठन गरेको थियो । गठित आयोगको सदस्य सचिवमा अध्यक्ष महतका विश्वासपात्र सहसचिव चुडामणी शर्मा थिए । शर्मा यसअघि सम्पत्ति शुद्धीकरणको प्रमुख पनि थिए । अख्तियारले उनीहरु सम्पर्कमा नआए पक्राउ गरेरै उनीहरुमाथि पनि अनुसन्धान थाल्ने बताएको छ ।
अख्तियार आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान सकेको स्रोतले जनाएको हो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढि कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ शर्माले छुट दिएको देखिएको छ ।
अख्तियार स्रोतका अनुसार सबै फायल अध्ययन गरिसक्दा रकम बढ्न सक्ने छ । शर्मा प्रकरणका सबै फाइल अध्ययन गरी अनुसन्धान गर्न कम्तिमा एक महिना समय लाग्नेछ ।
महालेखा परिक्षकको प्रतिवेदनले कर फछर्यौट आयोगले कर फछर्याैटका नाममा आर्थिक हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले चासो राखेको थियो । त्यस क्रममा अख्तियारले पटक–पटक शर्मासँग कर फछर्यौटसँग सम्वन्धित फाइल मागेको थियो । तर, शर्माले अख्तियारलाई कुनै पनि कागजपत्र नदिएको र अन्य सदस्य र अध्यक्षलाई पनि त्यस्ता दस्तावेज नदिन दबाव दिँदै आएका थिए ।
अख्तियारले शर्मालाई पक्राउ गरेपछि अहिलेसम्म ८७ वटा फाइलमात्र अख्तियारलाई बुझाएका छन् ।  अन्य फाइलको अनुसन्धान गर्नै बाँकी रहेको छ ।
सहसचिव शर्माले कर फछर्यौटका क्रममा अधिकाशं करदाता कम्पनीहरुलाई ९९ प्रतिशतसम्म कर छुट गराएर राज्यको आम्दानीमाथि दोहन गरेका थिए ।  शर्माले दिएको छुट रकम रकम संलग्नहरुवीच बाँडफाँड भएको देखिएको हो ।
उनले मदिरा उत्पादक कम्पनीहरुलाई यस्तो छुट दिएका छन् । एक मदिरा कम्पनीले छुट माग गरेको रकम नै नखुलाई पटकपटक गरी छुट दिएको, मदिरा बनाउने कच्चा पदार्थ गोलमाल गरी लुकाएकोमा निर्धारण भएको कर पनि मिनाहा गरेको पाइएको छ ।
एउटा मेशिन खरिद कम्पनीले कट्टा गर्नुपर्ने कर २६ लाख र कम्पनीको आयकर १ करोड २५ लाख रुपैयाँका लागि ३ लाख रुपैयाँमा सहमति गरी बाँकी रुपैँया मिनाहा गरेको देखिएको छ । ‘उनले राज्यले पाउनु पर्ने राजस्व रुपैयाँ मध्ये कम्तिमा ९९ प्रतिशतसम्म मिनाह गरेको पाइएको हो’ अख्तियार स्रोत भन्दछ । यस्तै कर फ्छर्यौट आयोगले सफाई दिएको एउटा व्यापारिक फर्मले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएको थियो । आयोगले ४ करोड रुपैयाँ असुलेर अरु रकम मिनाहा गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =