नवसाहित्यकार ‘नबु सत्याल’ जसलाई हौसला र साहस चाहिएको छ

साहित्य सृजनामा नविनतम नाम हो नबु सत्याल (अर्थात् नवराज सत्याल)

उनी पेसाले सरकारी जागिरे हुन् । कृषि विकास बैङ्क बालाजुका अफिसर नबु सत्याल फुर्सदमा साहित्य सृजनामा रम्ने गर्दछन् । वि.स. २०३० सालमा कपिलबस्तुको ताैलिहवामा आमा स्वार्गिय सितादेवी सत्यालको कोखबाट जन्मनु भएका उहाँले विद्यालय तहबाटै साहित्य कर्ममा हात हाल्नु भएको हो । विद्यालय तहमा हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुँदै गर्दा उनलाई साहित्य तर्फ हात हाल्न प्रेरित गर्यो ।

सानैदेखि माया भावमा रहनु पर्दछ, प्राणी जगतमा सबैलाई माया प्रेम र सद्भाव राख्नुपर्दछ भन्ने विचार बोकेका सत्यालका कविता र सृजनाहरुमा पनि यस्तै भाव पोखिएका हुन्छन् ।

हाल तारकेश्वर नगरपालिका १० मनमैजुमा स्थायी बसोबास गर्नुहुने सत्यालले काठमाडौँबाट मास्टर डिग्री गर्नु भएको छ । उनलाई साहित्य सृजनामा लाग्न प्रेरित तब भयो जब लामो समयदेखि मृगौलाको डायलाईसिस गराउँदै आउनु भएकी आमा सितादेवी सत्यालको असमाहिक निधन भयो । आमाको उपचारमा उनले आफ्नो धेरै सम्पत्ति खर्च गरे पनि आमालाई बचाउन सकेनन् । प्रकृतिको नियम हो जन्मेपछि मर्नुपर्छ । अनि यही सास्वत सत्यलाई सम्झेर मन बुझाए । ‘विद्यालय, कलेज तहमा फाट्टफुट्ट कविता, कथा गजलहरु लेख्थे । मलाई पारिवारिक बिछोडले यो क्षेत्रमा सक्रिय हुन प्रेरित गर्यो । आमालाई लामो समयसम्म डायलाईसिस गर्दापनि बचाउन सकिन, त्यसपछि मलाई यो माया प्रेम जस्ता कुरामा कलम चलाउन मन लाग्यो ।’ उनले भने । उनका सृजनाहरुमा पनि यस्तै भाव देख्न सकिन्छ । ‘मलाई अरू विषयमा पनि लेख्न मन छ तर, आमाको देहवसान पछि माया ममता र प्रेमका भावहरु आउन थाले ।’ उनी भन्छन् ।

‘मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो
सिर्फ म अटने ठाउँ दिए पुग्छ
मलाई झुटो र वनावटी माया चाहिन्न तिम्रो
सिर्फ हसिलो मुस्कान मात्र छरिदिए पुग्छ’

नबु सत्यालले अहिलेसम्म दर्जनौं फुटकर कविता, गजल र गीत सृजना गरिसकेका छन् । परिवार पाल्न र जीवन धान्न सरकारी जागिर नखाएका भए उनले अहिलेसम्म दर्जनौं कृति नै निकाली सक्थे । ‘पारिवारिक काम र जीवन धान्न जागिर खाँए, मैले जति सृजना गरेको छु सबै फुर्सदमा गरेको हुँ, यदि साहित्य सृजनामै लागेको भए दुई चारवटा सङ्ग्रह पक्कै हुनेथिए ।’ उनी भन्छन् ।

नबुले साहित्य सृजनामा आफूलाई प्रेमरस सँगै परम्परागत अन्धविश्वासका विरुद्ध पनि कलम चलाएका छन् ।

केही महिना पालेर मार्छौ भन्ने थाहा पाए आमा
आउदैन थिए तिम्रो कोखमा
आँखा नउघारदैं किन मार्यौ आमा
यही छ तिमीमा मेरो प्रश्न

आजकल धेरै आमाहरुले भ्रुण हत्या गरेका छन् । उनका कविताले भ्रुण हत्या गर्ने आमाहरुलाई कटाक्ष गरेका छन् । उनका अधिकांश कविताहरुमा माया, प्रेम र समाज र राष्ट्रलाई दिने सन्देश प्रवाहित भएका छन् ।

नबुका साहित्यमा केही गीतहरुपनि रेकर्ड भएका छन् नबुको शब्दमा चर्चित गायक प्रमोद खरेलले गाएको ‘तिम्रो घर जलाई मेरो महल बनाउन चाहन्न’ गीत निक्कै चर्चित बनेको गीत हो ।  याे गीतकाे म्युजिक भिडियाे बजारमा अाउने तरखरमा छ ।  उत्साह एल्बमको ‘निद छैन सुनसान रात’ पनि निक्कै चर्चामा आएको गीत थियो ।
भनिन्छ साहित्य मनले देखेर लेखिन्छ । नव साहित्यकार नबु सत्यालले पनि माया प्रेमलाई परिवारमा भोगे, समाजमा देखे अनि कागजमा लेखे । उनी आफूलाई साहित्यमा भर्खरको बालक सम्झन्छन् । ‘मेरो जीवनका तिता मिठा भोगाईलाई कागजमा उतार्ने कोसिस गरेको हुँ । साहित्यमा मैले धेरै सिक्नु छ । म भर्खरको बामे सर्दै गरेको बालक हुँ ।’ उनी भन्छन् । सत्यालले यसो भनिरहँदा उनका गीत तथा कविताहरू अध्ययन गर्ने हो भने, उनी नेपाली साहित्यमा केही गर्न चाहने क्षमता प्रतिभा भएका व्यक्ति हुन् ।

नव साहित्यकार नबुका दराजमा यस्ता अनगिन्ती सृजना छन् जो नेपाली साहित्य फाँटमा सशक्त बनेर उदाउन तम्तयार छ । उनले अहिलेसम्म कुनै कृति सार्वजनिक नगर्दा यी सृजनाहरू दराजमै थन्किने त हैनन् ? यी सृजनाहरू कतै नजन्मिँदै मर्ने त हैनन् ? आशंका उब्जिएको छ । उनलाई यति बेला हौसला चाहिएको छ, साहस चाहिएको छ । यसो भनिरहँदा नबु भने, आफ्ना रचनालाई गर्भ मैं मर्न दिने पक्षमा छैनन् । ‘मैले साहित्यमा लागेर कमाउने सोच बनाएको त छैन, आफ्ना मनका वह, जीवनका भोगाई, समाजको वास्तविकता पस्कने प्रयास मात्र गरेको हुँ । यसकारण ढिलो चाँडो बाहिर ल्याउने छु ।’

हाम्रो साहित्यिक क्षेत्रमा यस्ता अनगिन्ती सृजनाहरू छन् जो अवसर नपाएर देशका कुना कन्दरामा थन्किएका छन् । हरेक घरका दराजमा, सिरानीमा ओइलाएका छन् । साहित्यले समाजको, राष्ट्रको भाषा बोल्दछ । साहित्य भनेको सामाजिक, आर्थिक, इतिहासकोे साक्षी पनि हो । हामी कहाँ भानुभक्त आचार्य, भोतिराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यिक नक्षत्रहरु त छैनन् तर, उनीहरूले सृजना गरेका कृतिहरू छन्, जसले नेपालको जिउँदो इतिहास बताउँछन् । त्यस कारण साहित्यमा केही गर्छु भन्ने यस्ता प्रतिभाहरुलाई हामीले सम्मान गर्नै पर्दछ ।

साहित्य क्षेत्रमा पाइला चाल्नुहुने नबु सत्याललाई शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *