राजपाको नेपाल बन्द कहाँ कस्तो असर पर्यो ?

वीरगंज । संविधान संशोधन नगरेर सरकारले दोस्रो चरणको निर्वाचन गराउन लागेकोमा सोको विरोधमा राजपा नेपालले आह्वान गरेको जेठ ३० देखि असार २ गतेसम्मको आम हडतालको पर्सा जिल्लाको जनजीवन प्रभावित रह्यो । बन्द सफल पार्न घण्टाघर चोक, आदर्शनगर, बिर्ता, छपकैया, मुर्ली, पावरहाउस चोक, पिपरा, गण्डक चोक, नगवा, र जिल्लाको ग्रामीण भेगको पोखरिया, पकाहामैनपुर, भिस्वा, जानकीटोला, बिन्दवासिनी, गर्दैाल, भौराटार लगायत स्थानमा राजपाका नेता कार्यकर्ताहरूले बिहानैदेखी टायर बालेर बन्दको समर्थनमा नाराबाजी, जुलुस निकालेका थिए ।

वीरगंजमा सवारीका साधनहरूमा मोटरसाइकल चलेको थियो । शैक्षिक संस्थासमेत बन्द गराएका आन्दोलनकारीहरूले सरकारी कार्यालय, वित्तीय संस्था सञ्चालनमा शक्ति प्रदर्शन गरी रोक लगाएका थिए । बन्दको अवज्ञा गरिएको भन्दै ना १ ज ४६६१ नम्बरको टाटासुमो, बा ७ च ९११४ नम्बरको पिक अप भ्यानको शीशा तोडफोड गरिएको छ भने पोखरियामा ना ४ ख ८५२५ नम्बरको बसमा तोडफोड भएको हाम्रा संवाददाताहरूले बताएका छन् ।
राजपाका कार्यकर्ताहरूले वीरगंज, आदर्शनगर चोकमा खुल्न लागेको सङ्घीय समाजवादी फोरम नेपालको नगर कार्यालयमा पनि तोडफोड गरेका छन् । १५/२० जनाको सङ्ख्यामा रहेका राजपा कार्यकर्ताहरूले फोरम नेपालको कार्यालयमा झुन्ड्याइएको ब्यानर च्यातेको र कार्यालयको शीशा तोडफोड गरेका थिए । घटनापछि राजपा कार्यकर्ता जादोलाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल राष्ट्रिय विद्यापीठ, श्रीपुरमा सञ्चालित मतदान अधिकृतहरूको दुई दिने तालिममा सहभागी केही कर्मचारीलाई राजपाका कार्यकर्ताहरूले कुटपिट गरेका छन् । तालिम सकेर विद्यालय परिसरबाट निस्कने क्रममा प्रदर्शनकारीहरूको कुटपिटबाट एकजना कर्मचारीको टाउँको फुटेको र नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले बताए ।
घण्टाघर चोकमा राजपाका महिला नेतृहरूले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका थिए । संविधान संशोधनको कुरामा एकमत भएर पछि धोखा दिंदै पहिलो चरणमा सहभागी भएको र दोस्रो चरणमा पनि संविधान संशोधनबिनै सहभागी हुने जनाएर मधेसको मुद्दा कमजोर पार्न खोजेको भन्दै अध्यक्ष यादवको पुतला दहन गरिएको थियो । पुतला दहनपछि महिला नेतृहरू रेखा कर्ण, मुनि श्रीवास्तव, रानी शर्माले संविधान संशोधन बिना मधेसमा निर्वाचन कल्पना पनि नगर्न चेताए ।
महिला नेतृहरूसँगै कृष्णा पटेल, मुस्तकिम अंसारी, राजेश्वर कल्वारले पनि मधेसको माग सम्बोधनबिना चुनाव हुन नदिने बताए । उनीहरूले आम हडतालसँगै भोलि बुधवारदेखि असार २ गते हुने उम्मेदवारी दर्ता बिथोल्न जागरण अभियान सञ्चालन गर्ने बताए । असार २ गते उम्मेदवारी दर्ता कार्यक्रम बिथोल्न सघाउन उनीहरूले आह्वान गरे ।
निर्वाचन बहिष्कार सफल बनाउन आयोजित बन्दको क्रममा प्रदर्शन
परवानीपुर/ बारा सदरमुकामका साथै ग्रामीण भेगका विभिन्न स्थानमा राष्ट्रिय जनता पार्टीका नेता–कार्यकर्ताहरू बिहानैदेखि प्रदर्शनमा उत्रेका छन् । कलैया, जीतपुर, परवानीपुर, नितनपुर, गण्डक बहुअरी, प्रस्टोका, परसौनीलगायत स्थानमा राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरूले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेको राजपाका बारा प्रवक्ता रमेश सर्राफले बताए । चार दिने मधेस बन्द सफल पार्न पर्साका ग्रामीण क्षेत्रबाट पनि राजपाका कार्याकर्ताहरू स्वपूmर्त प्रदर्शनमा उत्रेका छन् ।
रौतहटको जनजीवन प्रभावित
रौतहट / राष्ट्रिय जनता पार्टी जिल्ला कार्य समिति रौतहटद्वारा गरिएको चार दिने बन्दको कारण आज पहिलो दिन रौतहटको जनजीवन प्रभावित भएको छ । राष्ट्रिय जनता पार्टीको केन्द्रीय निर्देशन अनुसार जेठ ३० गतेदेखि असार २ गते सम्म स्थानीय निर्वाचनलाई लक्षित गरी गरिएको बन्दको कारण आज पहिलो दिन रौतहटको जनजीवन प्रभावित भएको हो ।
बन्दको क्रममा गौर सदरमुकाम लगायत जिल्लाका अन्य बजार प्रभावित थिए । अधिकांश पसल वन्द रहे पनि सानातिना पसल सञ्चालित थिए । बन्दको क्रममा अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । बन्द सफल पार्न राष्ट्रिय जनता पार्टीका कार्यकर्ता परिचालित थिए । बन्दले गर्दा जिल्लाका सानो दूरीका सवारी साधनहरू सञ्चालन नभएको बस व्यवसायी सङ्घ रौतहटले जनाएको छ ।
गाउँमा मत माग्नेहरू घटे
राष्ट्रिय जनता पार्टी नेपालले शुरु गरेको निर्वाचन बिथोल्ने कार्यक्रमको कारण गाउँमा मत माग्ने कार्य रोकिएको छ ।
असार १४ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा जुटेका नेता कार्यकर्ताहरू आज दिनभरि गाउँमा मत माग्न कोही नआएको लङ्गडी निवासी राजनारायणप्रसाद कुर्मीले बताए । स्थानीय तहको चुनावको लागि पर्साका सबै मतदान केन्द्रहरूमा सुरक्षार्मीसहित कर्मचारी आइसकेका कुर्मीले बताए ।
मधेसको मागसहित असार १४ गतेसम्म राजपा नेपालले चरणबद्ध आन्दोलनको घोषणा गरेपछि शहरदेखि गाउँसम्म अहिले महोल तातेको छ । पर्साको गाउँ– गाउँको चोक–चौबाटोमा टायर बालेर विरोध प्रदर्शन भएको थियो ।
राजपा नेपालको अगुवाइमा शुरु भएको आन्दोलनका कारण मत माग्ने उम्मेदवारहरू दिनभरि देखा नपरेका कुर्मीले बताए ।
चुनाव सुरक्षाको लागि खटेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरीको चहलपहल मात्र देखा परेको थियो । राजपा नेपालले विरोध गर्दै स्थानीय तहको चुनावी प्रक्रियामा भाग नलिन आग्रह गर्न थालेपछि उम्मेदवार तथा कार्यकर्ता घर बाहिर निस्केका छैनन् ।
बेलुका भीड हुने चोकहरूमा आन्दोलनकारीबाहेक कुनै दलका नेता देखिएनन् ।








