यस्तो छ चिकेन चिल्ली बनाउने सजिलो तरिका, घरमै बनाउन सकिन्छ

काठमाडौं, माघ २१ । चिकेन चिल्ली अधिकांश ननभेज नेपालीले रुचाउने परिकार हो । पिरो–पिरो स्वादिलो हुने भएकाले पनि अधिकांशले चिकेन चिल्ली रुचाउँछन् । आवश्यक सामग्री जुटाउन सक्ने हो भने घरमै पनि यो परिकार सजिलै तयार गर्न सकिन्छ :
शम्भु कार्की, चिफ सेफ, पानस रेस्टुरेन्ट, खिचापोखरी
आवश्यक सामग्री
हड्डीरहित चिकेन स्लाइस गरेको २०० ग्राम, अदुवा लसुनको पेस्ट एक चम्चा, अन्डा एउटा, ह्वाइट पेपर आधा चम्चा, कागती एक टुक्रा, प्याज एउटा, क्याप्सिकम एउटा, गोलभेँडा एउटा, हरियो खुर्सानी दुईवटा, मैदा १०० ग्राम, कर्नफ्लर २ चम्चा, रेड कलर दुई थोपा, तेल आधा लिटर, लसुन चप गरेको दुई केस्रा, हटसस एक चम्चा, टोमाटो सस एक चम्चा, टेस्टिङ पाउडर र नुन स्वादअनुसार । यो एकजना व्यक्तिका लागि तोकिएको परिमाण हो ।
पहिले लेदम बनाउने
चिकेन चिल्लीका लागि सबैभन्दा पहिले लेदम बनाउनुपर्छ । यसका लागि एउटा भाँडोमा मैदा, कर्नफ्लर, कगतीको रस, हन्डा, नुन, टेस्टिङ पाउडर, रेड कलर, लसुन र अदुवाको पेस्ट सबै राखेर राम्रोसँग घोल्ने । मजासँग घोलेपछि लेदम तयार हुन्छ ।
लेदममा मासु मोल्ने
लेदम तयार भएपछि हड्डीरिहत चिकेन स्लाइस पनि राख्ने र राम्रोसँग चलाउने । मासुमा लेदम राम्रोसँग लागेपछि यसलाई एकछिन रहन दिने ।
लेदमयुक्त मासु भुट्ने
चुलोमा एउटा प्यान बसाल्ने । लेदमसहितको मासु भुटिनेगरी तेल राख्ने । तेल तातेपछि सानो आगोमा फ्राई गर्ने । ब्राउन कलर नहुन्जेल भुट्ने । ब्राउन कलर देखिएपछि निकालेर राख्ने ।
सामग्री सबै राख्ने
अर्को प्यान बसाल्ने । थोरै तेल राख्ने । तातेको तेलमा लसुन चप फ्राई गर्ने, ब्राउन कलर निकाल्ने । अब क्याप्सिकम, हरियो खुर्सानी, गोलभेँडा र प्याज पनि राखेर एक मिनेटजति भुट्ने । यसमा फ्राई गरिसकेको लेदमसहितको बोनलेस चिकेन पनि राख्ने ।
हल्का चलाइराख्ने । हटसस र टोमाटो सस एक–एक चम्चा राखेर एकछिन भुट्ने । स्वादअनुसार नुन र टेस्टिङ पाउडर राख्ने, ह्वाइट पेपर पनि राख्ने र ३० सेकेन्डजति चलाउने । अब चिकेन चिल्ली तयार भयो । हल्का माथिबाट हरियो धनियाँको चप राखेर स्वादिलो चिकेन चिल्ली लिन सकिन्छ ।
नयाँ पत्रिकाबाट








