भगवती चौधरीको समर्थनमा उर्लिए महिलाहरू

मंसिर १४, सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीप्रति महिला मतदाताहरुको अभूतपूर्व समर्थन देखिएको छ । आउँदो मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ का ९० प्रतिशत भन्दा बढी महिला मतदाताहरु नेतृ चौधरीको पक्षमा देखिएका हुन् ।

ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत महिला शशक्ति करणमा दुई दशकदेखि लाग्नु भएकी चौधरीको सामाजिक काम र इमान्दारिता देखेर यहाँका महिला मतदाता मात्र हैन यस पटक पुरुष मतदाताहरु समेत समर्थनमा निस्किएका छन् । अहिले प्रत्येक घरका महिला सदस्यहरू नेतृ चौधरीको पक्षमा छन् ।
‘भगवती चौधरी महिलाहरुका लागि साच्चिकै भगवती देवीकै अवतार’ भएर आएको भन्दै २१ गते २६ वर्षदेखि निरङ्कुश शासन गर्दै आएको ‘महिषाशुर’लाई ब्यालेटबाटै समाप्त गर्ने उद्घोष यहाँका महिलाहरूले गरेका छन् । आज यहाँका डुमरटका, दुहवी वडा नं. ३ लगायतका स्थानमा ‘भगवती चौधरी जिन्दाबाद’को नारा समेत लागेको थियो ।


सुनसरीको अमाहीबेल्हा, पचिरा, इटहरीका डुमरटका, दुहवीका अधिकांश महिला चौधरीको पक्षमा रहेका छन् भने, सोनापुर छाताबेलीका मुस्लिम समुदायका महिलासमेत यस पटक महिला उम्मेद्वारलाई नै जिताउने पक्षमा देखिएपछि नेपाली काँग्रेसका गच्छदारको हार सुनिश्चित भएको छ । विगतमा छाताबेलीकै मुस्लिम समुदायलाई आफ्नो गोजीको भोट भन्दै प्रयोग गरेका गच्छदार यस पटक सोही क्षेत्रबाट चार हजार बढी मुस्लिमहरु बाम गठबन्धनका पक्षमा देखिएपछि हच्किएका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा घरदैलो गर्दै हिड्नु भएकी नेतृ चौधरीलाई ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राज्य संयन्त्र नै लागेर हराएको स्मरण गर्दै सो क्षेत्रका जनताले यस पटक पनि त्यही अवस्था आए प्रतिकार समेत गर्ने चेतावनी दिए । आज इटहरी डुमरटकामा आयोजित कार्यक्रममा बोल्दै नेतृ चौधरीले पनि २०७० सालको जस्तो राजनीतिक अवस्था पनि नरहेको र जनतापनि नरहेको भन्दै अब आफ्नो विजयमा कोही तगारो नहुने दाबी गर्नुभयो । ‘७० सालमा मलाई यहाँमा महिला दिदिबहिनीहरुले जिताएकै हो, अहिले पुनः त्यही घटना हुन्छ की भन्ने तपाईहरुमा आशंका छ, ढुक्क हुनुहोस्, यो क्षेत्रलाई गच्छदारमुक्त बनाउन लागेकी छु, तपाईँहरूको साथ चाहिएको छ’ मतदाताहरुलाई सम्बोधन गर्दै नेतृ चौधरीले भन्नु भयो ।

नेतृ चौधरीले २६ वर्षसम्म एउटै व्यक्ति शासनसत्तामा रहेर पनि यहाँको विकास हुन नसकेको दाबी गर्दै आफूलाई एक पटक मात्र मौका दिन आग्रह गर्नुभयो । ‘हामीले जसलाई २६ वर्षसम्म विश्वास गर्यौँ त्यसबाट केही पाएनौं अब मलाई मात्र एक पटक विश्वास गर्नुस्, ५ वर्षमा यो क्षेत्रमा केही गर्न सकिन भने, अर्कोपटक हटाई दिनस् ।’
नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार विजयकुमार गच्छदारले अहिले चुनावको मुखमा आएर गाउँगाउँमा यो बनाउने, त्यो बनाईदिने भन्दै फोस्रा आश्वासन बाँडेको सन्दर्भमा नेतृ चौधरीले ‘२६ वर्षमा गर्न नसकेको मान्छेले अब ५ वर्षमा केपो गर्न सक्ला र ?’ भन्दै प्रश्न गर्नुभयो । उहाँले गच्छदारले गाउँगाउँमा भोट किन्नका लागि ठेकेदार खटाएको दाबी गर्दै जनतालाई त्यस्ता ठेकेदारबाट जोगिन आग्रह पनि गर्नुभयो । ‘तपाईहरुका घरघरमा टाउकाको मोलतोल गर्न ठेकेदारहरु आउनसक्छन् । तिनीहरूले पैसा, पावर जेपनि देखाउन सक्छन् । हामीलाई खबर गर्नुस् त्यस्ता लठैतलाई ठेगान लगाउन हामीसँग पनि युथ फोर्स र वाइसिएल छन्, इमान्दार नेता तथा कार्यकर्ता छन् ।’

चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकासका लागि आफूसँग स्पष्ट नीति रहेको भन्दै यो क्षेत्रमा आधुनिक कृषि प्रणाली, प्राविधिक शिक्षालय, सुविधासम्पन्न स्वास्थ्य संस्था, समुचित सिचाई योजना तथा व्यवस्थित शहरीकरणको योजना रहेको बताउनु भयो ।

नेतृ चौधरीले सुनसरी मोरङ क्षेत्रका उद्योग धरासायी हुनु र मजदुरले दुखः पाउनुमा पनि गच्छदारकै कारण रहेको अर्थयाउनु भयो । ‘राजनीतिका नाममा उद्योग धन्दाबाट चन्दा उठाउने गच्छदारको शैलीका कारण पनि यहाँका उद्योग बन्द हुने अवस्थामा छन्, भने, उद्योग कलकारखानाबाट मजदुरले दुखः पाउँदा पनि उहाँमा मजदुरको हितमा बोल्ने सामथ्र्य छैन ।’
गाउँलाई सहर र सहरलाई ठुला सहर बनाएर व्यवस्थित गर्न नेतृत्वमा बस्नेले स्पष्ट भिजन बनाउनुपर्ने भन्दै चौधरीले २६ वर्षमा १८ पटक मन्त्री बन्न सफल गच्छदारसँग आफनै गाउँको विकास गर्न नीति र योजना नभएको जिकिर गर्नुभयो ।
चुनावी अभियानमा आउनुभएकी नेकपा एमालेकी समानुपातिक उम्मेदवार निरुपालले पनि यो क्षेत्रबाट गच्छदारलाई बिदा गरेमात्र विकास र संवृद्धि देखिने बताउनु भयो । सो क्षेत्रका विभिन्न वडामा आयोजित चुनावी सभा र घरदैलो कार्यक्रममा बोल्दै निरुपालले सुनसरीलाई अन्य जिल्लाका तुलनामा विकासका दृष्टिकोणले अत्यन्त राम्रो मानिएपनि गच्छदारको क्षेत्रमा कुनै विकास नभएको देख्दा आफूलाई आश्चर्य लागेको बताउनु भयो । ‘सुनसरी जिल्लालाई विकासका दृष्टिकोणले अत्यन्त राम्रो छ भन्ने गथ्र्यौ, तर, आज गच्छदार जीले २६ वर्षसम्म शासन गरेको क्षेत्रको हालत देख्दा आश्चर्य लाग्यो ।’
चुनावी अभियानमा बोल्दै युथफोर्स नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतले सुनसरी क्षेत्र नं. ३ बामपन्थीहरुको किल्ला भनेर घोषणामात्र गर्न बाँकी रहेको दाबी गर्नुभयो । उहाँले गच्छदारले यहाँका सोझा साझा जनता र थारु समुदायको नाम लिएर लामो समयसम्म सत्तामा टिकेको भन्दै अब पुनः त्यही परिदृश्य नआउने ठोकूवा गर्नुभयो । ‘चौधरी, थारु समुदायको नाम लिएर राजनीति गर्ने तर, उनीहरूका लागि केही नगर्ने देखिएको छ, अब यहाँका सम्पूर्ण जनता भगवती चौधरीलाई जिताउन लागेको देखेका छौँ ।’ उहाँले भन्नु भयो ।

आजको चुनावी अभियानमा बोल्दै ३ नंं क्षेत्र प्रदेश (क) का उम्मेदवार लिलम बस्नेतले यस पटक पनि यहाँ जनताले परिवर्तनका पक्षमा मतदान नगरे ३० औँ वर्षसम्म यहाँ परिवर्तन हुन नसक्ने बताउनु भयो । उहाँले गच्छदारले चुनावका बेला आएर यहाँका युवाहरूलाई पैसा र रक्सी बाँडेकोमा आक्रोस व्यक्त गर्दै युवाहरूलाई दुब्र्यसनमा लाग्न प्रोत्साहित समेत गरेको जिकिर गर्नुभयो ।
मङ्सिर २१ गते हुने निर्वाचनका लागि नेकपा एमाले तथा माब गठबन्धनका उम्मेद्वारहरुले आफ्ना चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । घरदैलो कार्यक्रममा सो क्षेत्रका वृद्ध महिलाहरू तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।








