पत्रकार अर्यालको ‘तृष्णा’ विमोचन


नारायणगढ । कवि एवम् वरिष्ठ पत्रकार धर्मराज अर्यालको कविता सङ्ग्रह ‘तृष्णा’ को नारायणगढमा विमोचन गरिएको छ ।
अक्षर समूह चितवनद्वारा विमोचित कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, डा.नारायणप्रसाद खनाल, एलबी क्षेत्री, केशव चालिसे, डा.धनेश्वर भट्टराईलगायतले कविता सङ्ग्रहको बारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै अक्षर समूह चितवनका सदस्य एवम् गजलकार प्रभाकर पण्डितले समाजमा देखेका कुरालाई कविताको माध्यममार्फत सूचना प्रवाह गर्ने काम कवि एवम् पत्रकार धर्मराज अर्यालले गर्दै आएको बताए । सरल भाषा र सुन्दर शैलीमा कविता लेख्ने बानीले गर्दा अर्यालका कवितामा सामाजिक यथार्थवादी धारा पाइने उनको भनाइ छ ।
वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले कृतिमा संग्रहित ‘मेरो हस्ताक्षर’ कविता वाचन गरेर उद्घाटन गरेको उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरूले कवि र कवितामाथि आ–आफ्ना विचार राखेका थिए । यही क्रममा वरिष्ठ साहित्यकार विनोदीले अर्यालका कवितामा मानवीय संवेदना, देशप्रेमको भाव पाइने बताए । ‘कविता एकदमै सरल भाषामा लेख्नुभएको छ,’ उनले भने ।
कार्यक्रममा कवि र कवितामाथि चर्चा गर्दै कवि भूपिनले कवि धर्मराज अर्याल धेरै नबोल्ने र गहिरिएर कविता लेख्ने कवि भएकोले अन्तरमुखी स्वभावको कविको रूपमा औँल्याए । डा. धनेश्वर भट्टराईले वर्तमान परिस्थितिलाई कविताको माध्यमबाट यथार्थ उतार्न सक्ने खुबी भएको कविकोरूपमा चित्रण गरे । ‘त्यसैले वर्तमान युगिन चेतनालाई दाँजेर हेर्दा उहाँ यथार्थवादी कवि हुनुहुन्छ,’ उनले भने, ‘उहाँको कवितामा वर्तमान युग छ ।’
यस्तै साहित्यकार नारायणप्रसाद खानालले कवि अर्याल आफैँ पत्रकार भएकोले समाचार जस्तै सरल भाषामा कविता लेख्ने कवि भएको बताए । उनले कवि अर्यालका प्रकाशित कृतिहरूको बारेमा कविता समेत सुनाउन भ्याए । साहित्यकार केशव चालिसेले कवि अर्यालको कवितामा भोक, अशिक्षा, प्रेम, युद्धको विरुद्धको विद्रोह पाइने भएकोले सशक्त कविको रूपमा चिनिन सफल भएको बताए । साहित्यकार एवम् समालोचक उदय अधिकारीले ३० वर्षभन्दा पहिलेदेखि नै चितवनमा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउँदै आएकोले अर्यालको कवितामा चितवनको इतिहास पाइने बताए ।
सबैजनाको विचार सुनिसकेपछि कवि अर्यालले भने सबै पाठकहरूलाई कविता पढेर राम्रा नराम्रा प्रतिक्रिया दिन आग्रह गरे । ‘मैले सबै जना साहित्यकारहरूबाट सोचेअनुसारको टिप्पणी पाएको छु,’ उनले भन । चितवन पोस्ट दैनिकका सम्पादक समेत रहेका कवि अर्यालका यसअघि नै ‘प्रतिनिधि कविताहरू’ (२०७१), ‘अन्तरमनका छालहरू’ (२०६९), ‘तिम्रा मेरा बातहरू’ (२०६०’, ‘सिर्जनाका धुनहरू’ (२०५६) र ‘मातृभूमिको गीत’ (२०३६) गरी पाँचवटा कविता सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । छैठाँै कविता सङ्ग्रहको रूपमा प्रकाशित कविताकृति ‘तृष्णा’मा ६१ वटा कविता संकलित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =