राज्यको नीति निर्माण तहमा पुगेर सेवा गर्ने चाहना अनुरूप नयाँ शक्तिबाट उम्मेदवारी

कार्तिक २१, सुनसरी । एक दशक अघिदेखि काठमाण्डौंमा बसेर सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय धरान–१७ का दलमर्दन कामीलाई नयाँ शक्ति पार्टीले यसपालिको निर्वाचनमा पार्टीको तर्फबाट सुनसरी १ (क) क्षेत्रबाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारको घोषणा गरेको छ ।

राजनीतिक क्षेत्रबाट राज्यको नीति निर्माण तहमा पुगेर सेवाका काम गर्ने चाहना बमोजिम प्रत्यक्षतर्फ उम्मेदवार भएको उनले बताए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पाटी नेपालबाट उनको उम्मेद्धवारी हो । उक्त पार्टीको चुनावी चिन्ह आँखा रहेकाे छ ।

नयाँ शक्ति पार्टीमा क्रियाशील उनी अहिले पार्टीको १ नम्बर प्रदेशका प्रवक्ता हुन् । दलमर्दन धरानमा मोसा सिलवालका नामबाट समेत परिचित छन् । केन्द्रीय राजनीतिमा होमिए पछि काठमाण्डौंमा परिवार सहित अस्थायी बसोबास गर्दै आएका दलमर्दनले स्थानीय निर्वाचनमा धरानबाटै मतदान गरेका थिए ।

दलमर्दनलाई पार्टीले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वारमा सिफारिस गरेतापनि आफू प्रत्यक्षबाटै चुनावमा प्रतिस्पर्धा गर्न चाहेको बताए । उनले १ नम्बर प्रदेशको राजधानी धरानलाई बनाउने र धरानको समग्र विकासका लागि नयाँ शक्ति पार्टीले लिएको आर्थिक समृद्धिको नारालाई साकार पार्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।

उनले धरानका उत्पीडित जातजाति, अल्पसंख्यक धार्मिक समुदाय, सुकुम्बासी, दलित, आदिवासी जनजाति, उत्पीडनमा परेका क्षेत्री बाहुन आदिको सम्मानजनक मत पाउने विश्वास व्यक्त गरेका छन् । उनीसँगै नयाँ शक्ति पार्टीको प्रतिनिधिसभाका लागि पदम बहादुर राई र प्रदेश सभा (ख)बाट गोकुल थापालाई पार्टीले टिकट दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =