प्रचण्डको नयाँ निवासमा इञ्जिनियरिङ विद्यार्थीको घाँटीमा खादा !

काठमाडौँ, माघ १२ । शुक्रबार माओवादी अध्यक्ष प्रचण्डको नयाँ निवास खुमलटारमा विशेष कार्यक्रम थियो । नयाँ घरमा दर्जनौँ मानिसहरुको भरिभराउ थियो । चियापान पनि भयो । त्यसपछि प्रचण्डले भने ‘हामी मधेसको माग सम्बोधन गर्न सदैव तत्पर छौँ ।’
शुक्रबार ललितपुरको नयाँ निवास खुमलटारमा प्रचण्ड निक्कै उत्साहित देखिन्थे । किनकि आफ्नै निवासमा राष्ट्रिय जनता पार्टी (राजपा) छाडेर माओवादीमा महासचिव चन्द्र भुषणसहित दर्जनौँ विद्यार्थीहरु माओवादीमा प्रवेश गरे । यसकारण अध्यक्ष प्रचण्ड निक्कै खुसी देखिन्थे । आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सबैलाई मधेसको हकहितमा काम गर्ने बचन व्यक्त गर्दै भने,‘मधेसका माग शान्तिपूर्ण र संविधानको दायराबाट पुरा गरिन्छ तर यतिवेला मधेसलाई विकास र समृद्धि चाहिएको छ’, उनले थपे, ‘त्यो काम केवल वामपन्थी सरकारले गर्न सक्छ र त्यसमा जोड दिनेछ।’
‘हामीले राजनीतिक क्रान्ति धेरैपटक ग¥यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ’, उनले कार्यक्रम पछि भने, ‘जसमा तपाईहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ। अब तपाइहरुले यसको भार थाम्ने बेला आएको छ ।’
राजपाको विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सबैलाई अबिर र खादा ओढाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई निवासमा पार्टी प्रवेश गराएका हुन्। महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरु आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुङ्गेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुंवर, संगीतकार सन्तोष राज लगायतले पार्टी परित्याग गर्दै माओवादी प्रवेश गरेको छन् । पार्टी प्रवेश गर्नेहरुमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन्।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका नेता प्रभु साह पनि थिए । स्रोतका अनुसार पार्टी प्रवेशको सबै जिम्मेवारी उनैले मिलाएको बताइन्छ । प्रचण्डपछि आफ्नो मन्तव्य दिदै उनले मधेशमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए। नयाँ घरमा सरेपछि प्रचण्डले पहिलोचोटी पार्टी प्रवेश कार्यक्रम राखेको पनि स्रोत बताउछ ।








