देउवाले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ खाँदैनौं : ओली

पुस १, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले खोँचे थापेर राजीनामा दिन ढिलाई गरेको आरोप लगाएका छन् । उनले देउवालाई जनताले राजीनामा गराईसकेको बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा भने, ‘उहाँले बाधा, अड्चन पैदा गरेर खोँचे थापेर सरकारको आयु लम्ब्याउन खोज्नु भनेको सत्ता लिप्सा हो’

‘अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्परता देखाउनुपर्छ, त्यसको विकल्प छैन, यसबाट देउवा मुक्त हुनुपर्छ ।’ उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोँचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाए ।
प्रदेश प्रमुख नियुक्तिमा वर्तमान सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?, हामी प्रदेश नियुक्तीलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन।’
आफूहरुले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उनले थपे,‘असंवैधानिक नियुक्तीहरुबाट हामी सपथग्रह गर्दैनौं, यो के लोकतन्त्र चल्न नदिन खोजेको हो ? नेपाली कांग्रेसले ? हामी सपथग्रहण गर्दैनौं, जो पाए त्यही जस्तो पाए त्यस्तैबाट सपथग्रहण गर्छ, कि जनमतले भन्छ ?, जनमतले जे भन्छ, त्यही गर्छौं।’








