नयाँ प्रविधि अपनाएसगै कृषकको ध्यान सुन्तला खेतीतिर

म्याग्दी । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएसगै कृषकको ध्यान केन्द्रित हुन थालेको छ । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ ।

बास्कुनाका तिलक गुरुङ र राखुका राजु पुनले सुन्तला बगैँचामा पाँच हजार लिटर क्षमताको ड्रममा पानी र बिरुवाका लागि आवश्यक सुष्म तत्व मिसाएर सबै बोटको जरामा एकैसाथ सिँचाइ हुने गरी पाइप जडान गरेका छन् । बिरुवालाई आवश्यक पर्ने पानीसँगै सुष्म तत्वका रुपमा गाईबस्तुको गहुँत मिसाएर बिरुवाको जरामा आपूर्ति गर्न थालिएको कृषक गुरुङले बताए। चार सय सुन्तलाको बोट रहेको उहाँको बगैँचाका सबै बोटका जरामा पाइप जडान भएको छ ।

पानीका लागि बिरुवाको बोट बोटमा पुग्नुपर्ने समयको बचत हुने, आवश्यक पानी र मलखाद दिएर बिरुवालाई स्वस्थ्य बनाई उत्पादन बढाउन सकिने जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए।

तरकारीखेतीमा यसअघि यस्तो प्रविधि प्रयोग गरिएको थियो । थोपा सिँचाइ प्रविधि जडानका लागि कृषि विकास कार्यालयले तीन लाख ५० हजार अनुदान दिएको थियो । यस्तै राखुमा सो कार्यालयको सात लाख ५० हजार अनुदान र कृषकको दुई लाख ५० हजार रुपैयाँ लगानीमा सुन्तलाको बिरुवा उत्पादन गर्ने स्क्रिन हाउस निर्माण भएको छ ।

चारैतिर जालीको बार र प्लास्टिकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलित हुने जनाइएको छ । घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकैसाथ स्पिङ्कल सिँचाइ हुने व्यवस्था मिलाइएको सो प्लास्टिक घरबाट एकपटकमा ५० हजार बिरुवा उत्पादन गर्न सकिने क्षमता छ ।

बिजु र कलमी प्रविधिबाट बिरुवा उत्पादन गर्नका लागि जिल्लामै पहिलोपटक राखुमा स्क्रिन हाउस निर्माण गरिएको र आगामी वर्षदेखि बिरुवा उत्पादन सुरु गर्ने कृषक पुनले बताए।

उनले यसअघि खुल्ला ठाउँमा सुन्तलाको बिरुवा उत्पादन गर्दा रोग किराको समस्या देखिएको अनुभव सुनाए। राखु र बास्कुनाका करिब ८० घरधुरी कृषकले २० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =