फरवार्ड नेपालः जसले महिलालाई उद्यमशिलता बनायो

मङ्सिर ८, सुनसरी । महिलाहरूलाई आर्थिक रूपमा सबल बनाएर उनीहरूलाई राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रमा अगाडी बढाउन क्रियाशील संस्थाको नाम हो ग्रामीण महिला उत्सुकता विकास मञ्च अर्थात् ‘फरवार्ड नेपाल’ । सुनसरीको दुहवी भलुवा नगरपालिकामा अवस्थित फरवार्ड नेपाल २०५२ सालमा स्थापना भएको हो । स्थानीय स्तरमा छरिएर रहेका सानासाना पुजिलाई एकत्रित गर्दै समूह मार्फत लगानी गरी महिलाहरूलाई आत्मनिर्भर गराउनु यो संस्थाको मुख्य उद्देश्य रहेको छ ।
मधेसका महिलालाई सामाजिक, राजनीतिक र आर्थिक रूपमा बलियो बनाए उनीहरू अघि बढ्न सक्छन् भन्ने अठोट का साथ २०५२ सालमा ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) नामक सेवामुलक संस्था स्थापना गरिएको हो । यो संस्थाले समाजमा छरिएर रहेका सानासाना पुजीलाई एकत्रित गरी समुदायमै लगानी गर्ने योजना ल्यायो । जसले तराई मधेसका कमजोर आर्थिक अवस्था भएका, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि परेका महिलालाई सङ्गठित गर्दै उनीहरूको जिवनस्तर उकास्न ठुलो टेवा दिएको छ ।

‘फरवार्ड नेपालले सामाजिक, आर्थिक रूपमा पछि परेका महिलालाई एकत्रित गरी उनीहरूको सिप र दक्षतालाई तालिम मार्फत व्यावसायिक बनाएर उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरेको छ । यसले उनीहरूलाई स्वाबलम्बी बनाएको छ नै, उनीहरू समाजमा खुलेर कुरा गर्न सक्ने समेत बनाएको छ ।’ फरवार्ड नेपालकी अध्यक्ष नेतृ भगवती चौधरी भन्नुहुन्छ ।
फरवार्ड नेपालले तराई मधेसका महिलाहरूलाई विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै उनीहरूलाई उद्यमशिल बनाउँछ भने, फरवार्ड माइक्रोफाइनान्स लिई.ले यस्ता महिलाहरूलाई आर्थिक आय आर्जनका लागि सामूहिक जमानीमा लगानी गर्दछ । अहिले संस्थामा सङ्गठित रूपमा दुई लाख १५ हजार महिलाहरूको सहभागिता रहेको छ ।

फरवार्डमा आउनु अघि मेरो घरको आर्थिक अवस्था कमजोर थियो, बिहान बेलुकी गर्जोटार्न पनि समस्या थियो । श्रीमानको कमाइले मात्र गुजारा चलाउन नसकेपछि मैले यही संस्थाबाट ऋण लिएर सिलाई बुनाई तालिम लिँए, यहीबाट पुजि वृद्धि गर्दै अहिले आफैँ महिलाहरूलाई सिलाई कटाई तालिम दिन सक्ने भएकी छु ।’ फरवार्ड नेपालमा आबद्ध भएपछि आर्थिक रूपमा सहज भएको भन्दै भन्नुहुन्छ । दुहवी की शान्ति चौधरी ।
फरवार्ड नेपालमा आएपछि यो क्षेत्रका अधिकांश महिलाहरूको जिवनस्तर सुध्रिएको छ । श्रीमानको मात्र कमाइले घरखर्च धान्न र छोराछोरी समेत पढाउन नसक्ने अवस्थामा पुगेका महिलाहरू अहिले मासिक ५० हजारसम्म आम्दानी मात्र गर्दैनन्, घर व्यवहारमा पुरुषसंगै हातेमालो गर्दै अघि बढ्न थालेका छन् । पहिले श्रीमानको मात्र कमाई हुँदा घर चलाउन गाह्रो हुन्थ्यो, श्रीमानले पनि रक्सी आएर घरमा झगडा गर्ने, तैँले घर चलाउन जानिनस् भन्ने हुन्थ्यो । अहिले हामी आफैँ व्यवसायमा लागेपछि घरेलु हिंसामा धेरै कमी आएको छ ।’ फरवार्डबाट ऋण लिएर घर, गाडी जोड्न सफल भएकी मुना शिवाकोटी भन्नुहुन्छ ।

फरवार्ड नेपाल माईक्रो फाइनान्सले ग्रामीण महिलाहरुमा आर्थिक संवृद्धिका लागि बचत गर्नुपर्छ भन्ने चेतना प्रवाह नै गर्यो । दैनिक रूपमा बचत गर्ने र समूहमा काम गर्ने भावना विकास गरेसँगै फरवार्डले उनीहरूकै पुजी सामूहिक जमानीमा उनीहरूको सिप क्षमता र चाहना अनुसार लगानी गरिदियो । यसरी समाजमा छरिएर रहेको साना पुँजीलाई एकत्रित गरेर लगानी गर्दा महिलाहरूको आर्थिक अवस्थामा सुधार आउँदै गयो भने, परिवारमा पनि महिलाहरू प्रति पुरुषले हेर्ने दृष्टिकोण नै परिवर्तन ल्याएको छ । ‘जवसम्म महिलालाई आर्थिक रूपमा बलियो बनाउन सकिन्न उनीहरू विभिन्न प्कारका घरेलु हिंसाका सिकार हुन्छन् । त्यस कारण मैले महिलाहरूलाई आर्थिक रूपमा बलिया बनाउन र उनीहरूमा रहेको परम्परागत सिपलाई ब्यवसायीकरण गर्नका लागि आर्थिक शशक्तिकरण अभियान थालनी गरेकी हुँ ।’ फरवार्ड नेपालकी अध्यक्ष चौधरी दाबी गर्नुहुन्छ ।
फरवार्डले महिलाहरूको सिप र क्षमता अधिबृद्धि गरी लगानी गर्दछ । यसका लागि उनीहरूलाई विभिन्न सिपमुलक व्यवसायका लागि तालिम दिने, बजारको संभाब्यता खोज्ने सम्मका काम गर्ने गर्दछ । हाल संस्थामा २१ हजार महिला सङ्गठित रूपमा छन् भने, देशभरका तीन दर्जन शाखामा दुई लाख २५ हजार बढी महिला आबद्ध छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा दैनिक मजदुरी गरेर परिवार पाल्ने नरेन्द्र खरेलको जिवनस्तर पुरै सुधारिएको छ । श्रीमती गङ्गा सहित दैनिक फ्याक्ट्रीमा १२ घण्टा खटिँदा समेत गुजारा गर्न नसकेको यो परिवार फरवार्डमा आबद्ध भएर पशुपालन गर्न थालेपछि अहिले आफ्ना छोराछोरीलाई राजधानीमा राखेर पढाउन सक्ने हुनुभएको छ । ‘फरवार्डमा आबद्ध हुनुभन्दा अघि मेरो आर्थिक अवस्था अत्यन्त दयनीय थियो । परिवार बिरामी भए भने, गाउँघरमा सय कडा पाँच रुपैंयाको ब्याजमा ऋण खोज्दा पनि कसैले पत्याउँदैनथे । त्यसपछि हामीले फरवार्डबाट कर्जा लिएर गाई फर्म खोल्यौं, अहिले गाईको दूध बेचेरै मैले मेरो परिवार पाल्न सफल भएको छु, छोराछोरीलाई काठमाडौँमा राखेर पढाउन सक्ने भएको छु ।’ उनी फरवार्ड नेपालमा आबद्ध भएपछि प्राप्त गरेको सफलता सुनाउँदै भन्नुहुन्छ ।
यो संस्थाले महिलाहरूलाई आर्थिक उपार्जनका लागि ऋण प्रवाह मात्र गर्दैन, सामाजिक दायित्व अन्तरगत महिलाहरूलाई स्वास्थ्य, शिक्षा र वातावरणीय सचेतना समेत दिन्छ । संस्थाले महिलाहरूको क्षमता अभिबृद्धि गर्न विभिन्न सिपमुलक तालिम दिन्छ । यसरी संस्थाबाटै ऋण दिने, संस्थाबाटै स्वरोजगार हुने र संस्थाबाटै सिपमुलक तालिम पाएपछि यहाँका धेरै महिलाहरू अहिले समाजमा खुलेर कुरा गर्न सक्ने भएका छन् ।
यसरी संस्थाबाटै तालिम पाएर ऋण लिएर व्यवसाय गरेकी उदाहरणीय महिला हुन् चन्द्रकला राई (ब्यूटिसियन) सुनसरीको खनारमा उहाँले फरवार्डबाटै ऋण लिएर ब्यूटि पार्लर सञ्चालन गर्नुभएको छ । अहिले उहाँको आम्दानी मासिक ५० हजार बढी छ । ‘मेरो घरको आर्थिक अवस्था पहिले कमजोर थियो, हातमा सिप पनि थिएन, फरवार्डमा आएर मैले सिप पनि सिकें, अहिले आफैँ स्वरोजगार भएकी छु ।’ उहाँ भन्नुहुन्छ ।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ चौधरीको विचारमा तराई मधेसका महिलाहरू कमजोर हुनुमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था दोषी छ । तराई मधेसका तल्लो समुदायका महिलाहरुमा आर्थिक अधिकार छैन । घरको हरेक निर्णय गर्ने अधिकार पुरुषमा निहित छ । आम्दानीको स्रोत नहुँदा पुरुषसँग आश्रित हुनुपर्ने बाध्यता भएकोले पनि महिलाहरू घरबाहिर आउन नसकेका हुन् । अहिले तराई मधेसमा धेरै परिवर्तन आएका छन् । फरवार्डले महिलालाई सङ्गठित गरेसँगै उनीहरूमा सामाजिक, आर्थिक र राजनीतिक चेतना अभिबृद्धि भएको छ ।
सुनसरी दुहवीकी शान्तिदेवी चौधरी फरवार्डमा आउनु अघि दुई चार जनाको समूहमा बोल्न त के आफ्नै नाम राम्ररी भन्न सक्नुहुन्थेन । अहिले उहाँ गाउँकै उदाहरणीय महिला हुनुभएको छ । फरवार्डबाट ऋण लिनुभयो, पसल गर्नुभयो अहिले उहाँको आर्थिक अवस्था सुधारिएको मात्र छैन, आफ्ना छोराछोरीलाई उच्च शिक्षा समेत दिनु भएको छ । समाजमा रहेका महिलालाई नेतृत्व गर्न सक्ने हुनुभएको छ ।
समाज विकासको सिद्धान्तले स्वरोजगार र सिपलाई प्राथमिकता दिन्छ । यही सिद्धान्त अनुरूप स्थानीय क्षेत्रमा भएका सिप र क्षमतालाई ब्यवसायीकरण गर्दै समाज र राष्ट्र उत्थानको मूल उद्देश्य लिएको फरवार्ड नेपालले आर्थिक, सामाजिक तहमा गरेको योगदान अनुकरणीय छ ।








