भरतपुर महानगरको निर्वाचन यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचन सम्बन्धी कार्यक्रम हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशले उक्त आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि वादी र प्रतिवादी दुवै पक्षलाई पर्सी बोलाएको छ ।
सर्वोच्चको अादेशपछि वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन अायोगको निर्णय अहिलेलार्इ कार्यान्वयन गर्न नमिल्ने भएको छ । सर्वोच्चले पुनः मतदान वा मतगणना सुचारू दुवै हाललार्इ नगर्न अादेश दिएको छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरी गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । भरतपुर महानगरका १९ नम्बर वडाका नेकपा एमालेका सदस्यका उमेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दर्ता गराएका थिए ।
आयोगको निर्णय गैरसंवैधानिक, पूर्वाग्रहपूर्ण रहेको रिटमा उल्लेख छ । हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको दाबी रिटमा गरिएको छ । निर्वाचन आयोगले शनिबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । एमालेले त्यसको विरोध गर्दै आएको छ ।
९० वटा मतपत्र च्यातिएको छ
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विभिन्न राजनीतिक दलका नेता, उमेदवार, सुरक्षा समितिको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा बिहीबार ९० वटा मत गन्नै नमिल्नेगरी च्यातिएको पाइएको छ । तर, नेकपा एमालेले त्यसमा केही मत गन्न सकिने अवस्थाको रहेको हुँदा धेरै विवाद नगर्न आग्रह गरेको छ ।
भरतपुर वडा नम्बर १९ मा जम्मा २८९७ मत खसेको थियो भने १८०९ मत गणना भएको थियो । त्यति मत गणना हुँदासम्म नेकपा एमालेका उमेदवार ज्ञवाली माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल भन्दा ७३३ मतले अघि थिए । अब वडा नम्बर १९ मा ९९८ मत गन्न बाँकी छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पनि नोक्सान भएका ९० वटा मतपत्र भेटिएको बताउँदै यसको व्यहोरा निर्वाचन आयोगमा लेखि पठाएका थिए । त्यसपछि बसेको बैठकले पनि कुनै निर्णय गर्न सकेन ।

यसैबीच मतपत्र च्यात्ने दुई माओवादी कार्यकर्ता एक एक लाख धरौटीमा रिहा भएका छन् । न्यायाधीश बासुदेव पौडेलको इजलासले एक एक लाख धरौटीमा उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । निर्वाचन कसुर तथा सजाय ऐनको दफा १६ को उपदफा २ बमोजिम उनीहरुलाई रिहा गर्ने आदेश भएको जिल्ला अदालत चितवनका निमित्त श्रेस्तेदार धनिप्रसाद चापागाइँले जानकारी दिए । अदालतको आदेशमा माओवादी केन्द्रका नेताहरु मधु न्यौपाने र द्रोण शिवाकोटीलाई रिहा गरिएको हो ।
कसरी च्यातिएको थियो मतपत्र ?
स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा अघिल्लो आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको थियो । मतगणना भइरहेको समयमा राति ११ बजेर ४४ मिनेट जाँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरेको थियो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराएका थिए । करिब एक सय जति मतपत्र च्यातिएको जानकारी उनले निर्वाचन आयोगलाई दिएका थिए ।








