के थियो ? ६ करोड ६० लाख वर्ष पुरानो विनाशलीलाको रहस्य

बिबिसी । यो ६ करोड ६० लाख वर्षअघिको घटना हो । आकाशबाट १२ किलोमिटर लामो उल्कापिण्ड पृथ्वीमा खस्यो। पृथ्वीको वायुमण्डल र सतहमा ठूलो विनाशलीला मच्चियो। भीमकाय जन्तु डायनासोर लोप भए । अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचे ।
वैज्ञानिकहरूले त्यो उल्कापिण्डबारे नयाँ तथ्य सार्वजनिक गरेका छन् । उनीहरुका अन उल्कापिण्ड खसेपछि ३ सय अर्ब टनभन्दा बढी सल्फरले पृथ्वीको वायुमण्डल ढाकेको थियो।
यसले वर्षौं वर्ष पृथ्वीको तापक्रम पानी जम्ने शून्य डिग्रीभन्दा तल झर्यो। यस्तोमा कुनै जीवजन्तु बाँच्ने गुञ्जायस थिएन। समुद्री तापक्रम त सयौं वर्ष यही स्थितिमा रह्यो।
‘उल्कापिण्ड खसेर पृथ्वीको जलवायु नै फेरिएको हामीले भन्दै आएका थियौं,’ इम्पेरियल कलेज लन्डनका प्राध्यापक जोअना मोर्गनले बिबिसीसँग भनिन्, ‘नयाँ नतिजापछि त्यतिबेला पृथ्वीमा के भएको थियो भनेर ठोकुवा गर्न सक्ने भएका छौं।’
बेलायती वैज्ञानिक मोर्गन नेतत्वको टोलीले सन् २०१६ देखि उल्कापिण्डमाथि अनुसन्धान गर्दै आएको छ। उनीहरूले अनुसन्धान गरिरहेको ठाउँ मेक्सिकोको युकातान प्रायद्वीप हो, जहाँ उल्कापिण्ड खसेको थियो।
अनुसन्धान क्रममा जोअना र उनका सहकर्मीले दुई वर्षभन्दा बढी समय लगाएर चट्टान संकलन गरे। त्यही चट्टानका आधारमा पृथ्वीमा परेको प्रभाव आकलन गरेका हुन्।
उनीहरूका अनुसार उल्कापिण्ड १८ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीसँग ठोक्किएको थियो। यसले पृथ्वीका अर्बौं अर्ब चट्टान धूलोपिठो भए। कति त बाफ बनेर उडे। चारैतिर आगोको लप्का उठ्यो। त्यसको राप टाढा–टाढासम्म बतासझैं फैलियो। वायुमण्डलभरि धुवाँ र धुलोको मुस्लो छायो। यसले ३ सय २५ गिगाटन सल्फर र ४२५ गिगाटन कार्बन–डाइ–अक्साइड वायुमण्डलमा मिसिएको अनुसन्धानकर्ताको भनाइ छ।
कार्बन–डाइ–अक्साइडले वायुमण्डलको तापक्रममा दीर्घकालीन असर पार्नसक्छ। यसले पृथ्वीको तापक्रम तात्तिँदै जानुपर्ने हो। सल्फर पनि मिसिएपछि भने चिस्सियो। सल्फरयुक्त धुवाँ र धुलोको मुस्लो यति बाक्लो थियो, त्यसले सूर्यको किरण पृथ्वीसम्म आउने बाटोधरि छेक्यो। सूर्यको किरण ८५ प्रतिशत छेकिएको वैज्ञानिकको आकलन छ।
मोर्गन र टेक्सास विश्वविद्यालयका अर्का जियोफिजिसिस्ट सिन गुलिकका अनुसार उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा दस करोड अणुबम एकैचोटि विस्फोट भएजति शक्ति निस्केको थियो। यही शक्तिले जैविक विकास प्रक्रिया तहसनहस पारेको उनीहरू बताउँछन्।

उल्कापिण्डमा अनुसन्धान गरिरहेकी प्राध्यापक जोअना मोर्गन। तस्बिर स्रोतस् बिबिसी
पृथ्वीको आकस्मिक जलवायु परिवर्तनलाई त्यतिबेलाका जीवजन्तु र वनस्पतिले सहन सकेनन्। खासगरी करोडौं वर्षदेखि पृथ्वीमा राज गर्दै आएका डायनासोरजस्ता भीमकाय जनावर नै जलवायु परिवर्तनको चपेटामा परे। चिस्सिएको पृथ्वीसँग उनीहरू अभ्यस्त हुन सकेनन्। र, भकाभक यो धर्तीबाट लोप हुँदै गए। त्यही हालत अन्य स्तनधारी, घस्रने जनावर र वनस्पतिहरूको पनि भयो।
यो विनाशलीलापछि पृथ्वीमा फेरि जीवजन्तु र वनस्पतिको उदय हुन लाखौं वर्ष लाग्यो। यसलाई पृथ्वीको पाँचौं आमविनाशकारी घटना मानिन्छ।
यस वर्षकै सुरुमा अर्को स्वतन्त्र अनुसन्धान समूहले सल्फर र कार्बन–डाइ–अक्साइड वायुमण्डलमा छाड्दा कस्तो प्रभाव पर्छ भनी अनुसन्धान गरेका थिए। सय गिगाटन सल्फर र १४ सय गिगाटन कार्बन–डाइ–अक्साइड निष्कासन गर्दा पृथ्वीको तापक्रम झन्डै तीनदेखि १६ वर्ष शून्य विन्दुमा रहने उनीहरूको अनुमान छ। त्यसपछि पनि सामान्यभन्दा कम्तीमा २७ डिग्री सेन्टिग्रेड घट्ने पाइयो।
यो अनुसन्धानको नेतृत्व जर्मनीको पोट्सड्याम विश्वविद्यालयका जुलिया ब्रगरले गरेकी थिइन्।
‘जुलियाको अनुसन्धानले सल्फरको प्रभावबारे सही चित्रण गरेको छैन,’ प्राध्यापक मोर्गनले भनिन्, ‘अहिले हामीसँग नयाँ तथ्यांक छन्, जसले घटनालाई पहिलेभन्दा स्पष्ट पार्नसक्छ।’
‘उल्कापिण्ड कुन दिशाबाट, कुन कोण बनाएर पृथ्वीसँग ठोक्कियो भन्ने तथ्यांक हामीले निकालेका छौं। कुन चट्टानलाई असर गर्यो भन्ने पनि हामीलाई थाहा छ। यसले सल्फर र कार्बन–डाइ–अक्साइड कति–कति मात्रामा निष्कासन भयो निकाल्न सक्छौं। यसको खास प्रभाव हामीले सोचेभन्दा निकै बढी हुन्छ,’ मोर्गनले भनिन्।
अहिलेसम्मको खोजअनुसार साढे ६ करोड वर्षअघि उल्कापिण्ड ठोक्किँदा मेक्सिको खाडीमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनेको थियो। गहिरो खाडलका डिलमा चुचुरा बनेका थिए। तपाईं हिलो माटोमा ढुंगा खस्दा के हुन्छ, कल्पना गर्नुस् त? ढुंगाले सानो खाल्डो पार्छ र त्यही खाल्डो वरिपरि माटो चुच्चो–चुच्चो परेर बस्छ। मेक्सिकोको त्यो विशाल खाडलमा ठ्याक्कै त्यस्तै चुचुरा बनेका थिए।
‘यो पृथ्वीमा भएको एक मात्र यस्तो खाडल हो, जसको डिलमा चुचुरा छन्,’ टेक्सास विश्वविद्यालयका जियोफिजिसिस्ट गुलिक भन्छन्, ‘यस्तो खाडल चन्द्रमामा मात्र पाइन्छ।’
अहिले यो खाडलको अधिकांश हिस्सा समुद्रमुनि छ। केही हिस्सा जमिनमा भए पनि आकृति मात्र देखिन्छ। धेरैजसो भाग चुनढुंगा ९लाइमस्टोन० को थुप्रोले ढाकिएको छ।
गुलिक र मोर्गनले नेतृत्व गरेको वैज्ञानिक टोलीले यसै वर्ष मे र जुन महिनामा उक्त खाडल उत्खनन् गरेका हुन्। टोलीमा १२ देशका ३० जना वैज्ञानिक थिए।
अनुसन्धान क्रममा समुद्री सतहमुनिको चट्टान खनेर हेर्दा उनीहरूले ग्रेनाइट भेटे। पृथ्वीको सतहभन्दा निकै गहिराइमा मात्र पाइने यस्तो चट्टान त्यति माथि फेला पर्नुले साढे ६ करोड वर्षअघिको रहस्योद्घाटन भयो।
वैज्ञानिकहरू के नतिजामा पुगे भने, त्यतिबेला उल्कापिण्डको प्रभाव यति भयानक र विनाशकारी थियो, त्यसले पृथ्वीको लगभग १० किलोमिटर मुनिको चट्टानलाई एकाएक माथि सतहमा ल्याइदियो।
गहिराइबाट एकैचोटि सतहमा आइपुग्दा ती चट्टान तरल पदार्थझैं यताउति तैरिरहेका थिए। एक समय त यस्तो पनि आयो, ती चट्टान सगरमाथा जत्तिकै अग्लो भए। त्यो एकदमै थोरै समयका लागि थियो, एक मिनेटभन्दा कम। त्यसपछि तुरुन्तै पग्लिएर स–साना चुचुरामा परिणत भए।
‘सबभन्दा आश्चर्यजनक कुरा यही हो,’ प्राध्यापक मोर्गनले भनिन्।
पृथ्वीको सतहमा उल्कापिण्डले पारेको यस्तो असरमाथि खोज हुन थालेको निकै समय भइसक्यो। वाल्टर अल्भारेज भन्ने वैज्ञानिकले सबभन्दा पहिला माटोमा ‘इरिडियम’ भन्ने पदार्थ भेटेका थिए। यस्तो पदार्थ बाह्य पिण्डमा मात्र पाइन्थ्यो।
डायनासोर तथा त्यतिबेलाका जीवजन्तु पृथ्वीबाट लोप भएको र माटोमा त्यस्तो पदार्थ मिसिएको समय लगभग एकै थियो। यही आधारमा अल्भारेजले कुनै उल्कापिण्ड पृथ्वीमा खसेपछि डायनासोर लोप भएको हुनसक्ने अवधारणा अघि सारे। उनको यो अवधारणा सुरुमा निकै विवादित भयो। सन् १९९० मा मेक्सिको प्रायद्वीपमा उल्कापिण्ड खसेर बनेको विशाल खाडल फेला परेपछि बल्ल वैज्ञानिकहरूले अल्भारेजको अवधारणामा विश्वास गर्न थालेका हुन्।
यही सिलसिलामा मोर्गन र गुलिकको नयाँ खोजले उल्कापिण्डका कारण सिर्जित विनाशलीलामाथि थप प्रकाश पारेको छ।
आफ्नो बाटोमा घुमिरेका उल्कापिण्डहरू कहिलेकाहीँ अचानक सौर्यमण्डलभित्र छिर्छन्। अनपेक्षित बाह्य तत्वको प्रवेशले कुनै परिवारमा हलचल ल्याएजस्तै यस्तो उल्कापिण्डको प्रवेशले पनि सौर्यमण्डल परिवारमा हलचल ल्याउँछ। त्यस्ता उल्कापिण्ड सौर्यमण्डलभित्र छिर्दा कहिले पृथ्वी त कहिले अन्य ग्रहसँग ठोक्किने गर्छ।
पृथ्वीको उत्पत्ति क्रममा यस्ता घटना धेरै भएको वैज्ञानिकले भन्दै आएका छन्। उनीहरूका अनुसार भविष्यमा पनि आकाशबाट उल्कापिण्ड खसेर पृथ्वीसँग ठोक्किन सक्छ। तर, त्यस्ता पिण्डको आकार उतिबेलाको भन्दा सानो हुन्छ र त्यो टकराव उहिलेजस्तो भयानक हुँदैन। क्षति पनि खासै ठूलो हुँदैन।








