पहिलाे चरणकाे निर्वाचन सम्पन्न

मङ्सिर १०, काठमाडौँ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएका ३२ जिल्लामा मतदान गर्ने समय सकिएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगी मतदान गर्ने समय ताेकिएकाे थियाे ।
निर्वाचन अयोगले साँझ ५ बजेभित्र सम्बन्धित मतदान केन्द्रभित्र पुगेका मतदाताले मतदान गर्न पाउने जनाएको छ । त्यसैले केही मतदान केन्द्रहरुमा मतदान प्रक्रिया अन्तिम चरणमा छ । तर, अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सकिएर मतपेटिका शील गरी सदरमुकाम पठाउने तयारी भइरहेकाे छ । तर, हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने भोलि (सोमबार) बिहान मात्र सदरमुकाम ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेकोमा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । यद्यपि निर्वाचन आयोगले यसबारे आधिकारिक जानकारी दिएकाे छैन ।
उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार सकिएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहृयो । तर, स्थानीय तहको चुनावमा जस्तो यस चुनावमा मतदाताको उत्साह भने कमी पाइएको छ ।
सोलुखुम्बुको तिङलाका जनताले मतदान बहिस्कार गरेका छन् भने पश्चिम रुकुमको बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मङ्सिर २१ गते पुनः मतदान हुनेछ ।
ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लाहरूमा मतदानका क्रममा छिटपुट झडप भएका सामाचार आएपनि मानवीय क्षति भने भएको छैन । दोलखाको एक मतदान केन्द्रमा मतदानका लागि लाइन बसेकी एक महिलाको हृदयघातका कारण निधन भएको दोलखा प्रशासनले जानकारी दिएको छ ।








